आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै

images
मंगलबार, कात्तिक २९ २०७९
images
निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै

निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ।

images
images

काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ। निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौं भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। 

images
images
images

दैनिक १४ हजारभन्दा बढीले काठमाडौंस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। 'निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ', उनले भने। 

images
images

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले याुत्रको भीडभाड बढेको हो। यात्रुको सङ्ख्या बढेपछि दसैँ तिहारमा जस्तै एयरलाइन्सको बिजनेस पनि बढेको छ।

images
images

 वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताए। उनका अनुसार निर्वाचनको अघिल्ला दिन मङ्सिर १, २ र ३ गते तथा मतदानपछि मङ्सिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ। 'निर्वाचन अघिका तीन दिन र निर्वाचन पछिका दुई दिन हवाई उडानमा अध्यधिक चाप हुनेछ, अहिले निर्वाचनको संघरमा पनि उडानका यात्रु बढेका छन्', प्रवक्ता शर्माले भने। 
निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ।

बुध्द एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजंग पाण्डेले पछिल्ला दिनमा उडान चाप बढेको बताए। उकान अनुसार अहिले बुध्द एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ। 

'अहिले सामान्य अवस्थामाभन्दा केही यात्रुको सङख्या बढेको छ, आगामी शुक्रबार र शनिबार सङ्ख्या अझ बढ्ने देखिएको छ', उनले भने, 'यी दुई दिनका लागि बुकिङ पनि बढेको छ।' बुध्द एयरले हाल दैनिक एक सय ५० उडानमार्फत् सात हजार पाँच सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका तीन गरी १४ एटीआर र दुई बिचक्राफ्ट गरी कुल १६ जहाज छन्।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले निर्वाचनको संघारमा आन्तरिक उडानमा चहलपहल बढेको बताए। कम्पनीको अहिले उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत हाराहारीमा रहेको उनको भनाइ छ। 

तर पछिल्लो समय हवाई इन्धनका कारण टिकट मूल्य बढेकाले यसको विकल्प खोज्नेहरु पनि बढेको उनको भनाइ छ। उनका अनुसार काठमाडौंदेखि नजिकको गन्तव्य मानिने सिमराका लागि न्यूनतम तीन हजार छ सय र बढीमा चार हजार १५ रुपैयाँ भाडा दर कायम छ। साथै, काठमाडौं-धनगढीका लागि अधिकतम १६ हजार रुपैयाँ भाडा तोकिएको छ। यती एयरलाइन्सले छ थान एटीआरमार्फत सेवा दिइरहेको छ। 
  
श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार अहिले आन्तरिक उडानमा सामान्य चाप छ। 'निर्वाचनले उडानमा चाप बढेको छ तर धेरै चाप भने छैन', उनले भने। 

मङ्सिर ४ गते उडान नहुने

मतदान हुने  दिन मङ्सिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान भने हुने छैन। उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ। 

'चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुदैन', विमानस्थलका प्रवक्ता सिटौलाले भने। निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुने उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९०९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend