काठमाडौं- आन्तरिक हवाई यात्रुको संख्या बढ्दो छ। यात्रुको संख्या बढेसँगै आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरूले पनि जहाज थप्न प्रतिस्पर्धा नै गरेका छन्। वायुसेवा कम्पनीहरूले पनि धेरै यात्रु बोक्ने जहाज ल्याइरहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२२ को १० महिनामै करिब ३७ लाख भन्दा बढी हवाई यात्रुले देशका विभिन्न गन्तव्यमा आन्तरिक हवाई यात्रा गरेका छन्।
विमानस्थल कार्यालयका अनुसार सन् २०२२ जनवरीदेखि अक्टोबरसम्म १० महिनामा ३७ लाख १५ हजार ८ सय ३२ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्। १० महिनाको तथ्यांकलाई हेर्ने हो भने यो अहिलेसम्मकै बढी हो।सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्म कुल ९६ हजार ८ सय ७५ वटा उडान तथा अवतरण भएका छन्।
अहिले आन्तरिक उडानमा बुद्ध, यती, श्री, सौर्य, गुण, नेपाल एयरलाइन्स, तारा, सिता र समिट एयरलाइन्सले उडान गर्दै आएको छन्।
यसबाहेक झन्डै १ दजर्न हेलिकोप्टर कम्पनीले पनि सेवा दिँदै आएका छन्। हेलिकोप्टरतर्फ कैलाश, प्रभु, सिम्रिक, अल्टिच्युड, एयरडाइनेष्ट्रिक, फिस्टेल एयर, हेलिएभरेष्ट, मनाङ एयर, माउन्टेन हेलिकोप्टर, मुस्ताङ हेलिकोप्टर र श्री हेलिकोप्टरले आन्तरिक उडानमा सेवा दिँदै आएका छन्।
कुन एयरलाइन्सको बजार हिस्सा कति?
आन्तरिक उडानमा यात्रु र जहाजको संख्याको आधारमा बुद्ध एयर पहिलो नम्बरमा रहेको छ। बुद्ध एयरले १० महिनामा कुल यात्रु १९ लाख ९३ हजार १ सय ७५ यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ।
यसैगरी दोस्रो बजार हिस्सा ओग्टने कम्पनी यती एयरलाइन्स हो। यतीले सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्म कुल यात्रु ७ लाख ७८ हजार ७ सय ८६ यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ।
यसैगरी तेस्रोमा श्री एयरलाइन्स रहेको छ। श्रीले १० महिनामा कुल यात्रु ५ लाख ९४ हजार ४३ यात्रुलाई सेवा दिएको छ।
यसैगरी, चौथोमा रहेको सौर्यले १ लाख २४ हजार ४ सय २९ र पाँचौमा रहेको गुण एयरलाइन्सको कुल १ लाख ४ हजार ४ सय २९ यात्रुलाई आन्तरिक हवाई सेवा दिएको विमानस्थल कार्यालयले जनाएको छ। नेपाल एयरलाइन्सले भने जम्मा १४ हजार ७ सय ३३ यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ।
यसैगरी दुर्गममा उडान गर्ने तथा हेलिकोप्ट कम्पनीहरूले १० महिनामा १ लाख ६ हजार १ सय ६७ यात्रुलाई आन्तरिक हवाई सेवा दिएका छन्।