काठमाडौं- बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस उडान गर्ने घोषणा गरेको छ। यसअघि नियमित रुपमा काठमाडौं-बनारस-काठमाडौं उडान गर्दै आएको बुद्धले पोखराबाट उडान गर्ने तयारी गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ को जनवरीदेखि उडान सञ्चालन गर्ने तयारी गरेकोले बुद्ध एयरले पोखराबाट उडान गर्न लागेको जनाएको छ।
बुद्ध एयरले पोखराबाट सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान गर्ने गरी तयारी थालेको समेत जनाएको छ। बुद्धले रुट परमिट पाएमा पोखरा-दिल्ली-पोखरा सातामा दुई दिन उडान गर्नेसमेत घोषणा गरेको छ। त्यस्तै सातामा तीन दिन पोखरा-देहरादुन-पोखरा उडान गर्ने समेत बुद्धले जनाएको छ।