काठमाडौं- नेपालमा जाडो मौसम सुरु भएसँगै आन्तरिक उडान तोकिएकै समयमा नहुने समस्या सँधै हुन्छ। टिकटमा उल्लेख गरिएको समयमा यात्रु विमानस्थलमा पुगेपनि उड्न नपाउँदा घण्टौ विमानस्थलमा कुर्नुपर्ने समस्या हुने गर्छ। यो वर्ष पनि यो समस्याबाट अछुतो रहने छैन।
समयमा उड्न नपाएपछि यात्रुहरूले एयरलाइन्स कम्पनी तथा विमानस्थलका कर्मचारीहरूसँग गुनासो गरिरहेका हुन्छन्। वर्षौदेखिको यो समस्या समाधानका लागि खासै काम नहुँदा फेरि यो वर्ष पनि बल्झिने निश्चित छ
यात्रुको आक्रोशमिश्रित गुनासो सम्बोधन गर्न एयरलाइन्स कम्पनीहरूले पनि तोकिएकै सयममा जहाज उडान हुने नसकेको भन्दै आफ्नो तर्फबाट सूचना आदान प्रदान गर्छन्।
के जहाज डिले हुनुमा एयरलाइन्स कम्पनी र विमानस्थल कर्मचारीको मात्रै दोष छ त? जहाज डिले कस्तो कस्तो अवस्थामा हुन्छ?
जहाज डिले हुने कारणमध्ये सबैभन्दा पहिलो र प्रमुख कारण मौसम हो। उदाहरणका लागि अघिल्लो दिन नै उडान तालिका स्वीकृत गरिएको हुन्छ। सोहीअनुसार विमानस्थल कार्यालयले काम गरिरहेको हुन्छ। तर मौसममा खराबी आएपछि तोकिएअनुसारको उडान तथा अवतरण हुन सक्दैन। यो नै जहाज डिलेको प्रमुख कारण हो।
अर्को , समयमै विमानस्थलमा यात्रु नपुग्ने र चालक दलको सदस्यहरू पनि समयमै विमानस्थल नपुग्दा पनि जहाज डिलेको समस्या आउँछ तर यो मुख्य कारण भने होइन।
रात्रीकालीन उडान हुने विमानस्थलहरूमा पनि एयरलाइन्स कम्पनीहरूले दिउँसोकै समयमा उडान गर्न खोज्ने कारण पनि उडानमा प्रभाव पर्छ।
विमानस्थलले क्षमताभन्दा बढी उडान तथा अवतरण नगर्ने भएपनि जहिले पनि सफा मौसमकै परिकल्पना गरेर उडान तथा अवतरण तालिका तय गर्ने र मौसममा खराबी आउनेवित्तिकै जहाज डिलेको समस्या आउँछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले पनि मौसमसँगै क्षमताभन्दा बढी उडान तथा अवतरणको चाप रहँदा जहाज डिलेको समस्या आइरहने बताउँछन्।
जहाज उडान तथा अवतरणमा डिले हुनुमा कसैलाई पनि दोष दिएर आफूहरू पन्छिन नहुने उनको भनाइ छ। सबैले मिलेर नै समस्या सामाधान गर्नुपर्ने ठाकुरको भनाइ छ।
विश्वका हरेक विमानस्थलले आफ्नो क्षमता घोषणा गरेका हुन्छन् र सोहीअनुसार उडान तथा अवतरण हुने गर्दछ। तर नेपालमा अहिलेसम्म यस्तो क्षमता घोषणा गरिएको छैन।
तर एयरलाइन्सहरूले यात्रुसँग समयमै सूचित नगर्दा पनि यात्रु मारमा पर्छन्। कुनै पनि उडान १५ मिनेट वा ३० मिनेट ढिला हुने वा नहुने कुरा कम्तिमा १ घण्टा पहिला निश्चित हुन्छ। यस्तोमा उनीहरूले यात्रुलाई सही सूचना दिन सक्नुपर्छ। तर एयलाइन्सले यस्तो संयन्त्रको विकास अझै गर्न सकेका छैनन्।
नेपालको जलवायु निकै परिवर्तनशील छ। काठमाडौंबाट उत्तरतर्फ १५ मिनेटको उडानमा माइनस तापक्रम हुन्छ भने १५ मिनेट दक्षिणको उडानमा निकै गर्मी। मौसम र भिजिविलिटी प्रतिकुल हुँदा उडानहरू प्रभावित हुन्छ।
बिहान विमानस्थल केहीबेर मात्रै ढिला खुल्दा क्रमशः सबै उडानहरू प्रभावित र डिले हुन जान्छन्। कम भिजिविलिटी हुँदा उडानहरू आईएफआरमा सञ्चालन हुन्छन्। भीएफआरमा छिटो हुने र आईएफआरमा उडान केही समयको अन्तरालमा हुँदा प्रभावित हुन जान्छन्। कतिपय एयरलाइन्सले उडानसम्बन्धी सूचनाहरू एसएमएस, मोबाइल एप्स तथा सामाजिक सञ्जालमार्फत निरन्तर प्रवाह गर्ने गरिरहेका हुन्छन्। तर पनि उडान ढिला हुँदा यात्रुलाई पुग्नुपर्ने सूचना प्रवाह भएको छैन।
जहाज डिले हुनुमा आवश्यकता अनुसार पूर्वाधार विकास हुन नसक्नु हो।