भविष्यको मोबिलिटी : स्वच्छ सवारी

भविष्यको मोबिलिटी : स्वच्छ सवारी

काठमाडौं- अहिले सवारीसाधनबारे सोच्दा डिजेल/पेट्रोलबाट चल्ने ख्यारर्र गरेर इन्जिन चल्ने दुईदेखि चारपाङ्‍ग्रे सवारी नै आँखासामुन्ने आउँछ। बलयगाडीबाट सुरु भएको 'मोबिलिटी'को साधन साइकल, मोटरसाइकल, कार, बस, ट्रक हुँदै हवाईजहाजबाट रकेटसम्म पुगिसकेको छ। 

सुरुमा सवारीको विकास हुँदा स्टिम इन्जिनबाट चल्नेगरी भएको मानिन्छ। १९औँ शताब्दीको अन्त्यतिर सवारीसाधनका लागि इन्टरनल कम्बस्चन इन्जिन विकास भयो। पेट्रोलियम पदार्थको विकास र इन्टरनल कम्बस्चन इन्जिनयुक्त सवारी बनेपछि त्यसयता पेट्रोलियम सवारीले संसारभरका मानिसलाई यात्रा गराउनुका साथै सामानलाई गन्तव्यमा पुर्‍यायो। 

पेट्रोलियम पदार्थ बालेर सवारीसाधन चलाउँदा मानिसको जीवन धेरै सहज बन्यो तर वायुमण्डलमा भने त्यसको दूरगामी प्रभाव पर्दै गएपछि आईसी (इन्टरनल कम्बस्चन) इन्जिन वा त्यसमा प्रयोग हुने इन्धनको विकल्पको खोजी तीव्र हुन थाल्यो। सन् १९०० को अन्त्यतिर आइपुग्दा विकल्पका बारेमा केही कामहरू भएपनि त्यसले ठोस रुप लिन सकेको थिए। 

सुरुवाती समयमा विद्युतीय सवारीकै विकास राम्रो भएपनि पेट्रोलियम पदार्थ र आईसी इन्जिनको विकासपछि त्यस्ता सवारी शक्तिशाली ठहरिए र तिनले सयौँ वर्ष राज गरे। सन् १८९१ मै पहिलो चलाउन सकिने विद्युतीय कार बनेको मानिन्छ। यो विद्युतीय कार अमेरिकामा बनेको थियो। 

सन् १८९२ देखि १८९६ सम्म अमेरिकामा विद्युतीय कार चर्चित हुँदै थियो। तर १९०० को पहिलो दशकमा आईसी इन्जिन र पेट्रोलियम पदार्थको संयोजनबाट शक्तिशाली सावरीसाधन बनेपछि विस्तारै विद्युतीय कारको बिक्री घट्न थाल्यो।  

१९९० को दशकमा पुनः अमेरिकी कार उत्पादक कम्पनी जनरल मोटरले लिड एसिड ब्याट्रीमा आधारित विद्युतीय कार उत्पादन गरेको थियो। तत्कालीन समयमा पेट्रोलियम पदार्थ बिक्रेताको दबाबलगायत अन्य कारणले जनरल मोटरले विद्युतीय कार उत्पादनलाई निरन्तरता दिइरहन सकेन। लिड एसिड ब्याट्री राखेर बनाइएका विद्युतीय कारलाई त्यतिबेला ‘बम’ आयो भन्ने गरिएको थियो। 

यहीबीचमा पनि संसारभरका अटो जायन्टहरूले हाइब्रिडदेखि हाइड्रोजनसम्म र ब्याट्री इलेक्ट्रिकदेखि अरु विकल्पसम्म अध्ययन र विकासमा ठूलो लगानी गरिरहेका थिए र छन् पनि। २००० देखि २०१० सम्म ब्याट्रीमा आधारित विद्युतीय सवारी उत्पादन गर्नका लागि कयौँ स्टार्टप कम्पनीहरू स्थापना भए भने ती नै स्टार्टपदेखि ठूला अटो जायन्टहरूले ब्याट्री उत्पादनको क्षेत्रमा ठूलो लगानी गरे। 

यही समयमा स्थापना भएको टेस्ला इंकदेखि बीवाईडी अटो इन्डस्ट्रिज प्रालिसम्म ब्याट्रीमा आधारित विद्युतीय सवारी उत्पादनमा जायन्ट बनेर विश्व अटो उद्योगमा आइसकेका छन्। २०१० देखि २०२२ सम्मको अवधिमा आइपुग्दा अटोमोबाइल उद्योगले कोल्टे फेर्नका लागि चलमलाइसकेको संकेत गरेको छ। 

इन्टरनल कम्बस्चन इन्जिन र पेट्रोलियम पदार्थको दबदबाबाट मोबिलिटीका साधन स्वच्छ ऊर्जामा आधारीत सवारीमा जान बाटो तताइसकेका छन्।

न्यू इनर्जी सवारी उत्पादक टेस्ला, बीवाईडीमात्र होइन, संसारकै धेरै कार बिक्री गर्ने टोयोटादेखि फक्सवागन, फोर्ड, बीएमडब्लू, हुन्डाई हुँदै भारतीय कम्पनी टाटा मोटर्ससम्म ब्याट्रीमा आधारित विद्युतीय सवारी उत्पादनमा केन्द्रित भएका छन्। 

यतिमात्र होइन विशेषगरी युरोपका धेरै देशले समयसीमा नै तोकेर नयाँ आईसी इन्जिन सवारी दर्ता नगर्ने घोषणा गरिसकेका छन् भने आईसी इन्जिन सवारी उत्पादन गर्ने ठूला कम्पनीहरूले पनि मिति तोकेर आईसी इन्जिन सवारी नबनाउने बताउन थालिसकेका छन्। 

यसका साथै २०२३ डिसेम्बर १४ मा सम्पन्न भएको कोप-२८ मा जीवाष्म इन्धनको युग ‘अन्तको’ सुरुवातको गर्ने सहमति भएको थियो। उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो। योसँगै विश्वले पेट्रोलियम पदार्थबाट चल्ने सवारीको प्रयोग कम गर्दै हरित ऊर्जामा आधारित सवारीसाधनलाई प्राथमिकता दिँदै जाने कार्ययोजना तय गरिसकेको छ। 

उक्त समीक्षाले पक्ष राष्ट्रहरूलाई विश्वव्यापीस्तरमा नवीकरणीय ऊर्जा क्षमताको तीन गुणा वृद्धि र सन् २०३० सम्ममा ऊर्जा दक्षता सुधारलाई दोबर बनाउने कार्यहरू गर्न आह्वान गरेको छ। समीक्षाको सूचीमा कोइला ऊर्जाको प्रयोग चरणबद्धरुपमा घटाउन प्रयास गर्ने, जीवाष्म इन्धनको अनुदानलाई चरणबद्ध रूपमा हटाउनेलगायत समावेश छन्।

यसैगरी ऊर्जा प्रणालीमा जीवाष्म इन्धनबाट सङ्क्रमणलाई अन्त्य गर्न न्यायसंगत, व्यवस्थित र समतामूलक ढंगमा विकसित देशहरूले नेतृत्व लिनुपर्नेमा जोड दिइएको थियो। 

वर्तमान समयमा स्वच्छ सवारीको विकल्पका रुपमा ब्याट्रीमा आधारित विद्युतीय सवारी (बीईभी) नै अघि आएको छ। सुरुमा लिड एसिड ब्याट्रीबाट सुरु भएको बीईभीको यात्रा अहिले लिथियम आयन फोसफेट हुँदै सोडियम आयन वा अन्य विकल्पउन्मुख रहेको छ। ब्याट्रीको मूल्यमा पनि उल्लेख्य रुपमा कमी आइरहेको छ। 

२०१६ मा टेस्लाले विद्युतीय कार सार्वजनिक गर्दा ब्याट्रीको उत्पादन लागत प्रतिकिलोवाट आवर २ सय ५० अमेरिकी डलर थियो। २०१९ मा आइपुग्दा ब्याट्रीको लागत प्रतिकिलोवाट आवरको मूल्य १ सय ७० डलर हाराहारी आइपुगेको थियो। २०२३ मा यो मूल्य १ सय ५० डलरमा कायम रहेको क्लिन टेक्निकाले विस्तृत रिपोर्टमा उल्लेख गरेको छ। अहिलेकै अवस्थामा पनि ब्याट्रीको मूल्य २०२३ मा पुग्दा प्रतिकिलोवाट आवर ५० डलर हाराहारीमा पुग्ने अनुमान गरिएको छ। 

२०३० सम्म पुग्दा प्रविधिको विकास र नयाँ नयाँ अनुसन्धान भइरहेकाले त्यो अझै कम हुने अनुमान गरिएको छ। २०२७ सम्म पुग्दा ब्याट्रीको मूल्यमा आएको कमीले आईसी इन्जिन कार सरहकै मूल्यमा विद्युतीय कार उपलब्ध हुने अनुमान गरिऐको छ। २०३० सम्म पुग्दा ५० डलर वा त्योभन्दा कम मूल्यमा प्रतिकिलोवाट आवरमा ब्याट्री आउने हो भने विद्युतीय गाडी अझै सस्तो र प्रतिस्पर्धी मूल्यमा उपभोक्ताले चढ्न पाउने छन्। 

नेपाल हिजो पनि स्वच्छ सवारीमा अग्रस नै थियो ट्रली बससहित। तर अहिले ती ट्रलीक बसका अस्तिपञ्जरमात्र बाँकी छन्। तर फेरि नयाँ अवतारमा विद्युतीय बसहरु आएका छन्। 

नेपालमा २०१० ताका महिन्द्रा रेभा र त्योभन्दा केहीअघि विद्युतीय स्कुटरबाट सुरु भएको विद्युतीय सवारीको यात्रा अहिले प्यासेन्जर कारमात्र होइन कमर्सियल माइक्रो भ्यानदेखि ठूला बससम्म आइपुगेको छ। त्यतिमात्र होइन कुल प्यासेन्जर कार बिक्रीमा २०२२ र २०२३ मा विद्युतीय सवारी नै मेन स्ट्रिम बनिसकेको छ। 

सरकारले विद्युतीय सवारीमा कर सहुलियत दिनेदेखि लगानीसम्मेलनमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माणलाई समेत उच्च प्राथमिकतायुक्त परियोजनाको रुपमा अघि सारेको छ।

त्यस्तै प्रदेश सरकारहरूले पनि विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति लिएको छ। बागमती प्रदेश सरकारले २०८५ सम्म विद्युतीय सवारीमात्र दर्ता गर्ने नीति बनाएको छ। कार्यान्वयन हुन कठीन हुने र समय थप गर्नुपर्ने भएपनि नीतिगत स्पष्टता झल्किएको छ। केन्द्र सरकारले पनि विद्युतीय सवारीको प्रवर्द्धनलाई प्राथमिता दिने नीतिगत निर्णय र अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता गरेको छ। 

यतिमात्र होइन बहुपक्षीय अन्तर्राष्ट्रिय दातृनिकायहरूले नेपालमा सार्वजनिक यातायातको विद्युतीकरणमा चासो राख्न थालेका छन्। जर्मन सहयोग नियोग जीआईजेडले केही महिनाअघि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सार्वजनिक सवारीको विद्युतीकरण, चार्जिङ पूर्वाधार विकास र दक्ष जनशक्ति विकासका लागि अध्ययन गर्न टेन्डर आह्वान गरेको थियो। 

सरकारैपिच्छे विद्युतीय सवारीको नीति परिवर्तन हुने एउटा ‘रोग’ बाधकका रुपमा आउन सक्ने अनुमान गरिएको छ। सरकारले विद्युतीय सवारीमा लाग्ने करका दरहरू केही वर्षका लागि स्थिर गर्ने र चार्जिङ पूर्वाधारमा काम गर्ने हो भने बाँकी काम सवारी बिक्रेता तथा निजी क्षेत्रले गर्नेछ। सरकारले सहुलियत ऋण वा अनुदानमै ग्रिन फन्डको ठूलो रकम अन्तर्राष्ट्रिय दातृ निकायबाट ल्याउन सक्छ। सो रकम ल्याएर ब्याज सहुलियत वा प्रत्यक्ष लगानी गर्ने हो भने अहिलेको तुलनामा विद्युतीय सवारीको बिक्री वृद्धि उल्लेख रुपमा बढ्ने छ। 

संसारले र दुई छिमेकी मुलुक भारत र चीनले विद्युतीय सवारीलाई प्राथमिकता दिइरहँदा आयातमा आधारीत नेपालले त्यसबाट पर जान सम्भवतः असम्भव छ। बीईभी नभइ अर्को विकल्पै भएपनि भविष्यको मोबिलिटीका साधन स्वच्छ ऊर्जा वा प्रदूषणरहित हुनेमा दुईमत छैन। 

नेपाल आफैले हरित हाइड्रोजन उत्पादनमा काम गरिरहेको छ। हाइड्रोनको भन्डारण र ट्रान्सपोर्ट सहज बन्यो भने हाइड्रोजन फ्युलसेल सवारी आगामी दशकमा पूर्ण प्रयोगमा आउने सम्भावना पनि छ। त्यसैले आगामी पुस्ताका लागि पर्यापरण जोगाइ राख्न र पृथ्वीको अस्थित्वमाथि थप खलल नपुर्‍याउन स्वच्छ सवारी जरुरी भइसकेको छ। संसारले संकल्प गरिसकेकाले नेपाल त्यसभन्दा पर बस्न कुनै पनि कोणबाट सम्भव छैन। 


प्रकाशित : शनिबार, वैशाख १ २०८११२:००

प्रतिक्रिया दिनुहोस