कास्की- प्रकृतिले सहजै नदेखाउने नौलो स्वरुप मानव आँखाका लागि अनुपम उपहार बनिदिन्छ। सधैँजसो देख्न मुस्किल हुने यस्ता दृश्यले मनमा कैद गरिदिने तस्बिर वर्षौंसम्म अग्रभागमा रहन्छ। यस्तै छ कास्कीको 'कापुचे ताल'।
कापुचे ताललाई समुन्द्र सतहबाट सबैभन्दा तल्लो ठाउँमा रहेको हिमतालका रुपमा चिनिन्छ। बिहानीपख सूर्योदय र सँगै हावाको लहरमा लहरिने कापुचेमा हिमालतिर उडेको वाफले कलाकारले चित्रमा कुची चलाएजस्तो मनमोहक दृश्य बनिदिन्छ।
कापुचे ताल उदीयमान पर्यटकीय गन्तव्य र नयाँ पदमार्गका रुपमा विकास भएको क्षेत्र हो। कास्की जिल्लाको उत्तरपूर्वमा पर्ने कापुचे पोखराबाट सिकलेस हुँदै छोटो समयमा पुग्न सकिने रमणीय क्षेत्र हो। समुद्र सतहबाट २ हजार ५ सय ४६ मिटरको उचाइमा रहेको कापुचे पर्यटकीय गाउँ सिक्लेसबाट ठीक्कैको हिँडाइले ८ घन्टाको पैदल यात्रामा पुग्न सकिन्छ। पोखराबाटै एक दिन जिपमा सिकलेससम्म र अर्को दिन हिँडेर कापुचे जान सकिन्छ।

सिक्लेसबाट ६ घण्टाजति हिँडेर हुगु गाउँ पुग्न सकिन्छ। यो गाउँलाई गोठघर पनि भनिन्छ। कापुचेनजिक मानव बस्ती भएको अन्तिम हुगु गाउँबाट झण्डै दुई घन्टाको उकालोपछि कापुचे पुग्न सकिन्छ। अहिले त कापुचेमै पनि पर्यटकका लागि सहज होस् भनेर अस्थायी होटलहरू बनिसकेका छन्।
सिकलेसबाट कतै हरिया तेर्सा फाँट त कतै उकालो ओरालो हुँदै साँघुरा बाटामा झरना र खोलाको मीठो दृश्य संगीत पनि अनुभव गर्न पाइन्छ।कापुचेमा बेलाबेला हिमपहिरोले थपिदिने भिन्न आकर्षण भने जोकसैलाई मिलिहाल्ने सुविधा होइन। त्यसबाहेक पनि हिमाल, पहाड र जंगलको खोँचमा ढसमस्स बसिरहेको कापुचे गजव छँदैछ। चिसोमा जमेर एकढिक्का बनिदिने कापुचे गर्मीयाममा भने लहरिरहेकै हुन्छ।
कापुचेको दाँयाबायाँ हरिया जंगल देखिन्छ। उत्तरतिर थोरै लोभ्याउँदो त थोरै डर देखाउँदो हिमाल। दक्षिणतर्फ एक भागमा पहाड र अर्को भागमा पानीको निकास। कापुचेले पर्यटकलाई स्वागत गर्न आफ्नो बदलिँदो स्वरुपसँगै वातावरणीय उलटफेरमा भौगोलिक कठिनाइ पनि देखाइरहेकै छ। हिमपहिरोले फेरिएको कापुचेको स्वरुपमा समायान्तर देखिन्छ।


















