काठमाडौं- वेग, आवेग, संवेग, वेदना र उत्साहका विभिन्न आयाममा चित्रकलामार्फत नौला लाग्छन् चित्रकार समुन्द्रमान सिंह श्रेष्ठ। वर्तमानलाई विगतसँग फरक स्वरुपमा जोड्छन्। भविष्यको सपनातर्फ उसैगरी चित्रमार्फत नै संकेत गर्छन्।
चित्रकलाको नेपाली बजारमा हिजोआज नयाँ प्रयासहरू भइरहेकै छन्। यो बजार मोलको मात्र बजार होइन। उपस्थितिको क्रियाले निरन्तरताको प्रक्रियाको बजार हो। जहाँ विदेशी पारखीहरूको ठेलमठेलमा उदाइरहेका छन् नेपालभित्रै केही आशहरू। तीनै कला पारखीमाझ अहिले पुन: अगाडि देखिएका छन् समुन्द्रमान।
ठमेलस्थित ‘म्युजियम अफ नेपाली आर्ट’ (मोना)मा अहिले उनै कलाकार समुन्द्रमानको चित्रकला प्रदर्शनीमा छ। जहाँ उनले आफैलाई सुरुवातदेखि आजसम्म समष्टी देखाउने प्रयास गरेका छन्। आफ्नो कलाको लम्बाइ, चौडाइ र उचाइ मात्र होइन गहिराइ पनि प्रष्ट्याएका छन्। चित्रमार्फत नै।
समुन्द्रमान बनिरहेको बाटोमा हिँड्नभन्दा केही नौलो गर्न रूचाउँछन्। तर सीमाभित्रै रहेर। कलाकारको धर्म नछाडि केही भिन्न गर्ने समुन्द्रमानको खुबी प्रशंसायोग्य छ। नेपाली पौभा चित्रकलामा उनले गरेको नयाँ प्रयोग युवापुस्ताका लागि केही फरक गर्न सकिन्छ भन्ने प्रेरणा पनि हो। उनी गजवसँग शास्त्रीय मान्यतामा नयाँ प्रयोग गरिरहेका छन्। त्यसमा मूलतत्व र दर्शनको कुराहरू पौभाभन्दा बाहिर गएर गरेका छैनन्।
000
काठमाडौं रक्तकालीमा २०३६ सालमा जन्मिएका समुन्द्रमान ‘सुपर कमाण्डो ध्रुव’जस्ता कमिक पात्रहरूको चित्र कोर्दै हुर्किए। पेन्सिल स्केच, वाटर कलर हुँदै एक्रिलिक पेन्टहरूमा काम गरेर अघि बढेका उनले ओएल पेन्टिङमा पौभा प्रस्तुत गरेर आफ्नो उचो पहिचान बनाएका छन्। परम्परागत चित्रकलामा नयाँ प्रयोग गरेका छन्। भाजुमान चित्रकारको पालाको जस्तो 'सेल्फ पोट्रेट'मा आफैलाई उतार्नेदेखि हरित ताराको अदभूत सौन्दर्यमा सम्मोहित बनाउने चित्रमार्फत आफ्नो कला व्यक्त गरिरहेका छन्।
ललितकला क्याम्पसमा समकालीन कला सिकिरहँदा समुन्द्रमान घरमा भने परम्परागत चित्रकलाको अभ्यासमा हुन्थे। त्यही समय २०५४ सालतिर नेपाल एकेडेमीले गरेको चित्रकला प्रतियोगितामा सहभागी हुँदै उनले पौभा बनाए। त्यसमा राष्ट्रिय पुरस्कार पनि जिते। जसले उनमा चित्रकलालाई अझ निरन्तरता दिने प्रेरणा बढेको थियो। त्यसपछि पनि अरनिको युवा पुरस्कारलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारहरू पाइरहेकै छन्।
समुन्द्रमानको चित्रकला सानै बेलाको रुची हो। बालमनस्थितिमा आएका चित्रहरू उनले नधकाइ कापीमा उतारे। यसैले त उनी भन्छन्- 'सानोमा आफूलाई इच्छा लाग्ने कुरा त विद्यालयको गृहकार्य नै छाडेर भए पनि गरिने रहेछ। यहाँ प्रदर्शनीमा पनि २०४८ सालतिर बनाएका चित्रहरू पनि राखेको छु। जसले मेरो यात्रा देखाउन सहयोग गर्छ। आजको अवस्थासम्म आइपुग्दाको विगत देखाउँछ।'
'औपचारिक रुपमा २०४९ सालदेखि नै चित्र बनाउन थालेको हुँ। त्यो बेलामा ६ महिने चित्रकारिता कक्षा पनि लिएको थिएँ। प्रेममान चित्रकार, दीपक जोशी, लोक चित्रकार, उदय चन्दहरूले सिकाउनु भएको थियो' उनले विगत सम्झिए।
चित्रकारितामा देखिनेगरी लागेका सुरुका दिनहरूमा समुन्द्रमानले पौभा चित्रकारिता नै गरे। त्यो समय ठमेलतिर बेच्न राखिने थान्का चित्रजस्तै। सबैले गरिरहेको कुरामा उनले आफ्नो पहिचान भेटेनन्। जो कोहीले उस्तै काम गरिरहँदा आफू कसरी फरक हुने भनेजस्तो लाग्यो। बिषय त्यही भए पनि अलि भिन्दै किसिमले गरौँ भनेजस्तो। त्यसैले नै उनले पौभामा ओएल पेन्ट गर्न थालेका हुन्।
'जन्मदेखि मानिसले केही प्रतिभा लिएर आएको हुन्छ नै, तर प्रतिभा छ भनेर यसै बसेर हुने होइन। अभ्यास त हुने नै भयो। त्यसको निरन्तरता पनि चाहिन्छ। सानोमा मजस्तै चित्र बनाउने कति साथीहरू अहिले चित्रकलामा छैनन्। त्यो उनीहरूले निरन्तरता नदिएर हो', उनी भन्छन्, 'बीज मात्र भएर भएन, मलजल पनि हुनुपर्छ। सम्भावना र प्रतिभा सेलायो भने त त्यो सकियो।'
समुन्द्रमानले पौभामा फरक अभ्यास गर्दा अरू कलाकारले यो पौभाभन्दा बाहिर भयो भनेजस्ता प्रतिक्रियाहरू पनि आए। 'राम्रो नराम्रो सबै प्रतिक्रियालाई स्वीकार गरेर नै बढिरहेको हुन्छु। आफूले केही नयाँ बाटो बनाएँ भन्ने लाग्दा खुशी पनि लाग्छ' उनले सुनाए, 'पौभामा अलिकति रङ उप्कियो या अलिकति कोरियो भने पनि त्यो किनिँदैन। काम नलाग्ने भयो भनिन्छ। मैले आफैले बनाएको एउटा चित्र पनि थोरै कोरिएको हुँदा मूल्य घटाएर नै बेच्नुपरेको थियो। तर अहिले त मैले कोरिएको जस्ता पौभावाहरू नै पनि बनाएका छु।'
पौभामा स्वतन्त्रता त हुन्छ तर त्यसमा आफ्नै सीमाहरू छन्। त्यो सीमाभन्दा बाहिर गएर स्वतन्त्रता लिन सकिँदैन। त्यसमा जथाभावी गर्न मिल्दैन। उनी भन्छन्, 'मैले त्यो सीमा पार गरेको छैन। कम्पोसिजन मात्र अलि फरक गरेको हुँ। जस्तो कि मञ्जुश्री चीनबाट भन्ने आधारमा उहाँको चित्रमा अनुहार अलिकति चीनतिरको अनुहार जस्तो बनाइदिन खोजेको मात्र हुन्छु।'
मठमन्दिरमा सानोदेखि घुम्दा तोरणबाट हराएका देवीदेवता देख्दा होस् या भूकम्पमा जीर्ण भएका सम्पदा होस् उनले पौभा चित्रमा उतारेका छन्। ती कतिपय वर्तमान पीडाका चित्र छन्, कतिपय भविष्य देखाउने सपनाका। सबै चित्रमा देखिन्छ उनको इमान्दारिता।
आफ्नै चित्र आफैले यो हो भनेर चिनाउनु राम्रो मान्दैनन् समुन्द्रमान। उनको चित्रकला हेरेर अरूले प्रतिक्रिया दिएकै उनलाई मनपर्छ। हुन पनि कलाकार कुन धारमा छ भन्ने कुरा चित्रका पारखीहरूले गर्ने काम हो। समुन्द्रमानलाई नेपाली सुगन्ध चित्रमा हराउन भएन भन्ने लाग्छ। पुर्खाको धरोहर पनि होस् र आफ्नोपन पनि होस्।
चित्रकलाको पौराणिक विषयमा प्रवेशका लागि आफूलाई भाग्यले साथ दिएको समुन्द्रमानलाई लाग्छ। पौभा चित्रमा सिद्धहस्त कलाकार दीपककुमार जोशीको प्रभाव उनमा सानै उमेरमा परेको थियो। उनका माइला बुबाका साथी दीपककुमारले सुझाव र प्रेरणा समुन्द्रमानका लागि विशेष छ। उनले सानामा कोरेका खेस्रा चित्रमा नै दीपककुमारले उनको खुबी पहिल्याएका थिए। त्यसैले 'भगवान लेख्ने' फरक शैलीको चित्रकलामा उनलाई अभ्यास गराए।
000
चित्रकला बेच्न सकियो भने अरुले कामको कदर गरिदिएको जस्तो समुन्द्रमानलाई लाग्छ। चित्र नबिक्दा काम ध्वस्त भयो कि जस्तो पनि ठान्छन्। १४ वर्षको उमेरमै 'पेन्टिङ चाहिन्छ दाइ?' भन्दै पसल पसल पनि पुगे। पाटनदेखि भक्तपुरसम्म पनि आफूले बनाएका चित्र बेच्न हिँडे। त्यस्तो गाह्रो अवस्थाबाट बढेका उनी अहिले वर्षमा दुईवटा मात्र चित्र बनाउँछन्। चित्रकलाबाटै जीउनुको सन्तुष्टी पाइरहेका छन्।
'धेरै समय त बुबाको कमाइले चल्दा चित्र बनाइरहन सहज पनि भयो। पहिलेको तुलनामा अहिले त राम्रै पनि छ। कला संगीत र साहित्य पैसा कमाउने थलो त हुँदै होइन। तर केही हुँदै नभएको पनि होइन। नेपाली कलेक्टरहरू बढेका छन्। पहिले विदेशीको मात्र भर पर्नुपर्ने हुन्थ्यो' उनले भने, 'हामीले महिनौँ लगाएको पेन्टिङ निकै सस्तोमा बेच्नुपर्ने अवस्थाहरू पनि थियो। चित्र बनाएर बेचिएन र संकलन मात्र गरिराखियो भने मोटिभेट पनि हुँदैन। पैसा भनेको पावर पनि त हो। त्यो भएन भने सुकेरै जान्छ।'
अहिले आफूले गरिरहेको कामले समुन्द्रमानलाई सन्तुष्टी दिएको छ। योबाहेक अरू नै काम गर्नुपर्ने रहेछ भन्ने उनलाई कहिल्यै लागेन। सुरु सुरुमा परिवारमा हेयको दृष्टीले भने नहेरिएको होइन। 'तिमीले के यो पेन्टरको काम गर्न खोजेको? साइनबोर्ड, होडिङ बोर्ड लेखेर बसेर हुन्छ?' भन्ने खालका कुराहरू सुनेरै समुन्द्रमान अघि बढेका हुन्।
तर त्यसबेला उनको मनमा यही चिज बेचेर खानुपर्छ भन्ने सोच थिएन। जागिर खान जाउँला अरू केही गरौँला भन्ने नै थियो। 'यसबाट पैसा आउँछ कि त्यसबाट पैसा आउँछ भन्ने सोचेको भए दिक्क पनि लाग्थ्यो होला तर सौखमा भविष्य हेरेर गएको होइन, भविष्य बन्न पुग्यो। धैर्य भएर मेहनत भने गरिरहनु पर्छ नै' उनले भने।
साधना र समयको मेहनत मूल्यसँग तुलना त हुँदैन तर जीविकोपार्जनका लागि चित्रको बिक्री गर्नु नै पर्छ। 'पेन्टिङ गरेर जीविकोपार्जन गर्छु भनेर सुरु गरेको पनि होइन। सौखमा नै सुरू गरेको हो। मेहनत गर्दै जाँदा हुँदै गइरह्यो। धेरैजसोको सौख एउटा काम अर्को भइरहेको हुन्छ, मेरो सौख र काम एउटै हुनुमा म भाग्यमानी पनि हो', उनले भने, 'पढाइ पनि त्यही भयो। त्यसैलाई पेशागत रुपमा लगौँ भन्ने भयो। सुरुसुरुमा बेच्दा पारिश्रमिक पनि आउँदैन थियो। हुन त बेच्छु भनेर गर्ने त होइन तै पनि। कविता कसैले बेच्छु नै भनेर त लेख्दैन नि, कसैले त्यसलाई म गीत बनाउँछु भनेर लग्यो भने त्यो बेग्लै कुरा।'
चित्रको साधना चित्रअनुसार फरक हुन्छ नै, त्यसमा लाग्ने समय पनि फरक फरक नै हुन्छ। समुन्द्रमानका पनि कुनै चित्र एक वर्षदेखि दुईसम्म पनि लागेका छन्, कुनै कहिल्यै पनि नसकिएका पनि छन्। पौभा चित्रमा एकदम विस्तारमा काम गर्नुपर्ने हुन्छ। सकाइसकियो भनेका चित्रमा अझै यसरी काम गर्नुपर्ने, यहाँ त्यो गर्नुपर्ने भन्ने उनलाई पनि लागिरहन्छ। तब उनी भन्छन्, 'चित्र पनि जीवन जस्तै हो, पूर्ण त कहिल्यै हुँदैन।'
000
अब केही नयाँ गर्छु भन्ने सोच नै हो जसले कलाकारलाई जीवन्त बनाइराख्छ। समुन्द्रमान पनि केही नयाँ गरौँ भन्ने प्रयासमा सधैँ हुन्छन्। विगतले सिकाएका पाठमा उनी वर्तमान स्पष्ट बनाउँछन्। हुन पनि उनले चित्रकारिता गरेको झण्डै ३० वर्षको समयमा विभिन्न आयामहरू देखाइसकेका छन्। वरपरको वातावरण अनुसार चित्रमा विभिन्नता आइरहेको छ।
'अहिले चित्रकलामा सरलिकृत गर्दै गइरहेको छु जस्तो लाग्छ। अहिले बिषयमा धेरै क्राफ्ट नराखी सरल बनाउँ भन्ने हुन्छ। त्यसको लागि बिषयको गहिराइ बुझ्न भने जरूरी छ' उनले भने।
समुन्द्रमानको शैली पछ्याउन चाहने युवा कलाकारहरू अहिले निकै छन्। तर उनलाई कसैले आफैले जस्तो गर्नुभन्दा केही नयाँ नै गरे राम्रो हुन्थ्यो भन्ने लाग्छ।
'अरूलाई सिकाऔँ भनेर सोचिरहनु पर्दैन त्यो आफै हस्तान्तरण भइरहेको हुन्छ। हात समाएर सिकाउने कुरा पनि छैन। हात समाएर सिकाउँदा मैजस्तो फोटोकपि निस्कन्छ। उही भएर त खास हुँदैन। महत्व हुँदैन। नक्कली जस्तो मात्र हुन्छ' उनी भन्छन्, 'यो तरिकाले गर्ने हो भनेर तौरतरिका भनिदिने हो। कतिलाई त हेरेर मात्र पनि ज्ञान पुग्छ, आफ्नोअनुसार काम गरिरहेका हुन्छन्।'
अहिले कलाकारले पाइरहेको ठाउँका कारण पनि अवस्था केही सहज हुँदै गएको उनलाई लाग्छ। ठमेलकै पुरानो होटल काठमाडौं गेस्ट हाउसको पुछारमा रहेको मोनामा चित्रकला प्रदर्शनी त्यसैको नमूना हो। चित्रको महत्वअनुसार त्यसको प्रस्तुति पनि उत्कृष्ट हुँदा मोनामा गरिएको प्रदर्शनीले उनी खुशी देखिन्छन्।
'कलाकारले ठाउँ पाउनु एकदमै महत्वपूर्ण कुरा हो। यहाँको क्वालिटी पनि राम्रो छ। जसले आर्टको महत्व बढाएको छ। प्रस्तुति निकै महत्वपूर्ण कुरा हो' उनले भने।
समुन्द्रमान एक दिनमा समुन्द्र बनेका होइनन्। लामो यात्रा चित्रकलामा गरेका छन्। त्यही बुझाउन पनि उनले आफ्ना पुराना चित्रहरू पनि प्रदर्शनीमा राखे। एउटै चिजमा एकोहोरिएर लागिरहँदा केही न केही पाइन्छ भन्ने पनि उनको कामले देखिन्छ। म पनि दोधारमा थिएँ, अहिले यतिसम्म गर्न सकेँ भन्ने उनको सन्देश चित्रबाट देखिन्छ।
यो पनि - एक गहिराइ : मूल्य, ज्ञान र प्रज्ञा