शनिबार, वैशाख २२ गते २०८१    
बुढीगण्डकी डुबानको फरक चित्र : १९० वर्ष पुरानो सम्पदाको बेवास्ता

बुढीगण्डकी डुबानको फरक चित्र : १९० वर्ष पुरानो सम्पदाको बेवास्ता

गोरखा-  बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा रहेका परिवारले क्षतिपूर्ति पाइरहेका छन्। कति बस्ती छाडेर अन्यत्र सरिसके। कतिपय सर्ने तयारीमा छन्। यस्तोमा आयोजनाको डुबानमा पर्ने ऐतिहासिक सांस्कृतिक सम्पदाहरू भने जीर्ण बनेर निमिट्यान्न हुने खतरामा पुगेका छन्।

images
images
images

त्यसैमध्ये हो नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले विसं १८८८ मा बनाएको भीमवीरेश्वर मन्दिर। सहिद लखन गाउँपालिका-९ नाम्जुङको बुंकोटघाटमा रहेको भीमवीरेश्वर मन्दिरमा रहेका महत्वपूर्ण ऐतिहासिक सम्पदाहरू कतिपय जिर्ण बनेर हराएका छन् भने कतिपय चोरी भइसके। १९० वर्ष पुरानो सम्पदामा भएको बेवास्ताले इतिहासको प्रमाणहरू नष्ट भइरहेका छन्।

सम्पदामा भइरहेको बेवास्तामा बारम्बार प्रश्न उठेपछि सहिन लखन गाउँपालिकाले मन्दिर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय त गरेको छ, तर त्यसअघि नै जीर्ण मन्दिरको महत्वपूर्ण सम्पदा वस्तुहरू हराइरहेका छन्। 'मन्दिर स्थानान्तरणको लागि निर्णय भइसकेको छ र उपयुक्त स्थानको खोजी भइरहेको छ, त्यहाँ स्थित गुठीकै निगरानीमा काम भइरहेका छन्' सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबहादुर थापा मगरले भने।  

bhimbireswor mandir (2).jpg

बुढीगण्डकी जलविद्युत आयोजनासँगको समन्वयमा मन्दिर सार्ने तयारीमा उपयुक्त जग्‍गा खोजीका लागि काम भइरहेको र तीनवटा ठाउँका बारेमा गाउँपालिकालाई पनि जानकारी गराइसकेको भीमवीरेश्वर महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापाले बताएका छन्। जसमा रातमाटे कालिका प्राविभन्दा केही माथि, सातदोबाटे बगैँचाभन्दा माथि अमलचुलीमा र रामभञ्याङदेखि तल चुली डाँडामा ठाउँ हेरिएको उनले बताए।  

'डुबान क्षेत्रभित्र परेका सार्वजनिक सम्पदा, पाटीपौवा, मठमन्दिर, विद्यालय स्थानान्तरण गर्ने बुढीगण्डकी आयोजनाकै जिम्मेवारी हो। अहिले व्यक्तिको घरजग्गाको मुआब्जाको काम सकिएपछि सार्वजनिक सम्‍पदामा काम गर्ने भन्ने छ। त्यसबाहेक अरू केही कुरा अगाडि बढेको छैन। उनीहरूले नापनक्सा लिने काम चाहिँ गरेका छन्' थापाले भने। अहिले शिवरात्रीको समयमा पुराण लगाउने कामका लागि मन्दिर परिसरमा सरसफाइको काम भइरहेको पनि उनले बताए। बर्सेनि महाशिवरात्री, हरिबोधनी एकादशी र महास्नान पूर्णिमामा समेत विशेष मेला लाग्ने गरेको छ।

bhimbireswor mandir (3).jpg

मन्दिर स्थानान्तरणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७३/७४ मा नै बजेटसमेत छुट्याएको थियो। तर बुढीगण्डकी आयोजनाले नै मन्दिर स्थानान्तरण गर्ने भएपछि गाउँपालिका पछि हट्दा काममा ढिलाइ भइरहेको छ। जसले गर्दा महत्वपूर्ण सम्पदा बेवास्तामा परेको भन्दै स्थानीयले गुनासो गरिरहेका छन्। कतिपय सामान चोरी भइसकेका छन् भने कतिपय महत्वपूर्ण सम्पादाहरू टुटफुट भएका छन्।

'चोरी भएका घटनाहरू निकै अघिका कुरा हुन्। पछि हामीले झिक्‍नुपर्ने जति सामान झिकेर गुठीयारहरूकै घरमा ल्याएर सुरक्षितसाथ राखेका छौँ' भीमवीरेश्वर महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले भने, 'कसको घरमा कुन सामान राखिएको हो भनेर सबै टिपोट राखेर नै काम गरेका छौँ।'

गुठीका अध्यक्षको भनाइअनुसार मन्‍दिरको अवस्था भने देखिँदैन। चारैतिर ढुंगाले छापिएको मन्दिरको गजुर, घन्टीहरू चोरी भइसकेको अवस्थामा छ। त्रिशुल भाँचिएको अवस्थामा छ।

थप तस्बिरमा हेर्नुहोस्-

bhimbireswor mandir (4).jpg
bhimbireswor mandir (5).jpg
bhimbireswor mandir (6).jpg
bhimbireswor mandir (7).jpg
bhimbireswor mandir (8).jpg
bhimbireswor mandir (9).jpg


प्रकाशित : शनिबार, माघ २२ २०७८१२:०२

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार