कतिपय यात्रा गन्तव्यभन्दा पनि आत्मा र मनको समिश्रणको एउटा ठूलो अनुभव हुने रहेछ। यो पटकको लाङटाङ यात्रामा पाँचजना साथीहरू, हरेकले फरक-फरक उमंग र खोजका साथ यात्रा तय गरेका थियौँ।
गन्तव्य लाङटाङ भए पनि यो यात्रा त्यसभन्दा धेरै पर थियो। देखिएका हरेक कुराहरू महसुस गर्नु, मुटुमै छोएर जाने चिसा बतास, विशाल पहाडहरूले यात्राको सम्झनालाई अझैँ गहिरो बनाइदियो।
काठमाडौंबाट दुई र चितवनबाट तीनसहित हामी पाँच जना गल्छीमा भेटेर सँगै हिँड्दा सबैमा उत्साह र केही डर पनि थियो, जुन सहयात्रीहरूको साथले कम हुँदै जान थाल्यो।
बिहान गल्छीमा भेट भएपछि हाम्रो यात्रा वास्तवमै सुरु भयो, २०८१ कात्तिक १० गतेका दिन। स्याब्रुबेसीतर्फको यात्रा गर्दा झ्यालबाट देखिने प्रकृतिले हामीलाई थप रोमाञ्चित पारिरहेको थियो। टाढाबाट हेर्दा त गएका लामा पहिराहरू पनि झरनाजस्ता लाग्ने रहेछन्।
पहाडको भिरालोहरू, नदीले बनाएका गहिरा खोंचहरू र घुम्तीमा हरिया वनस्पति देख्दा एकातिर रमाइलो लाग्दै थियो भने अर्कोतिर गाडीले घुम्ती मोड्दा देखिने ठूला भिरहरूले डर पैदा गराउँदै थिए। डरलाई चटक्कै बिर्साउन अर्कातिर मनमा लाङटाङ पदयात्राको उत्साह पनि त थियो।
स्याफ्रुबेसी पुगेपछि पैदल यात्रा सुरु भयो। बाटोको कठिनाइका कारण तीन घण्टाको उकालो यात्रा पार गर्न धेरै मेहनत गर्नुपर्यो। सबैमा थकान भए पनि प्रकृतिसँग नजिक हुने रहरले ऊर्जा दिन्थ्यो।
अन्तत: यात्राको पहिलो दिनको अन्त्यमा हामी 'ब्याम्बो' भन्ने स्थानमा पुग्यौँ र त्यहाँ रात बस्ने योजना बनायौँ। 'अंग्रेजी अक्षर 'ब्याम्बो'को ठाउँमा यसको नाम बाँस भएको भए हामी बाँसमा बास बसिरहेका हुन्थ्यौँ' भन्ने मेरो आवाज निस्किनासाथ साथीहरू मज्जाले हाँस्नुभयो।
असहज लागेका हरेक कुराहरू, देखिएका समस्याहरू सहयात्रीहरूको हाँसो र रमाइलोमा सबै कुरा सहज लाग्दै गए। बेलुका खाना खाइसकेर हामी बिस्तारामा पल्टियौँ र पहिलो दिनलाई पूर्णविराम लगायौँ।
यात्राको दोस्रो दिन कात्तिक ११ गते बिहानको झिसमिसे उज्यालो, कलकल सुसाएको खोलासँगै हामी जुरुक्क उठ्यौँ। पहिलो दिनको थकान घटाउन खाजा खाएर हामी लाङटाङ गाउँतर्फ लाग्यौँ।
बाटो उकालो थियो र गोडामा दबाब त भइरहेको थियो तर साथीहरूको हौसलाले यात्रा सहज बनाइरहेको थियो। बाटोमा भेटिएका घोडाका बथानलाई बाटो दिँदै, स्वदेशी तथा विदेशी पर्यटकहरूलाई नमस्कार गर्दै उकालो चढ्न थालियो।
रिम्चेभन्दा तलको पहिरोमा एकजना विदेशी पर्यटक चिप्लिए अनि हाँस्दै 'अल्मोस्ट' भन्दै उठे। मलाई उनी चिप्लिएको देखेर डर पैदा भयो। तर आफू त्यही ठाउँ पुग्दा त्यस्तो महसुस भने भएन।
घोडा तबलानजिक पुग्दा थकानले गोडा दुख्न थालेको महसुस भयो। लगिएका चाउचाउ, चकलेट, मकै भटमास र बिस्कुटहरू नै यात्राको खान्की बन्दै थिए। बिस्तारै चिसो बढ्न थाल्यो र थकाइ पनि उत्ति नै महसुस भयो।
लाङटाङ गाउँसम्म पुग्न कठिनाइ हुने ठानेर हामी त्यसैको नजिकै पानारोमा भन्ने होटलमा बास बस्यौँ। साँझको चिसोमा आगो ताप्दै हामीले लामो समय गफ गर्यौँ। दिनभरीका पदयात्राका अनुभवहरू साटासाट गर्यौँ। यात्रा कति कठिन र रमाइलो भइरहेको थियो, सबैले आ-आफ्नो अनुभव बाँड्दै, एक-अर्कामा थप नजिक हुँदै गयौँ।
साँझको समयमा हाम्रो गफगाफ र हाँसोमा बाटोको थकान हरायो। हिमालको काखमा रहेको होटलको बिस्तारामा निदाउन पाउँदा हिमालकै काखमा निदाएजस्तो महसुस भयो।
यात्राको तेस्रो दिन कात्तिक १२ गतेको यात्रा झनै चुनौतीपूर्ण र रोमाञ्चक बन्यो। पानारोमा होटलबाट हामी लाङटाङ गाउँतर्फ बढ्यौँ।
२०७२ सालको विनाशकारी भूकम्पका कारण गएको पहिरोमा पुरिएको सिङ्गो गाउँ देख्दा मनमा चिसो पस्यो। ती कतिपय शवहरू अझैँ यहीँ पुरिएको छ भन्ने कुरा साथीले सुनाउँदै गर्दा आँखाहरू रसाए। मन भारी बनाउँदै लाङटाङ भिलेज पुगियो। लाङटाङ भिलेजमा पुगेर हिमालसँगै तस्बिरहरू कैद गरियो।
बाटोमा उचाइ बढ्दै जाँदा हावा पातलो भएको महसुस हुँदै गयो। रूख नभएका ठाउँमा यात्रा गर्दा कठिन हुँदै गयो। क्यान्जिन गोम्पा पुग्नुभन्दा केही तल लेक लागेको महसुस भयो। जसका कारण एकछिन रोकिएर सास फेर्नुपर्यो। तर त्यहाँको सुन्दरताले हामीलाई अघि बढ्न प्रेरणा दिइरहेको थियो।
गोम्पा पुग्दा हिमालले घेरिएको अनौठो वातावरण थियो। जहाँ केही समयलाई सबै कुरा बिर्सिएर मन रम्न थाले। झोलाबाट हर्लिक्स र कफी निकालेर गोम्पाकै काखमा बसेर एक/एक कप पियौँ। गोम्पाभन्दा थोरै माथि पुगेर एउटा होटलमा झोला बिसायौँ।
भोकले चुर भएका हामी खाना खाएर विश्राम गर्यौँ। पदयात्रा हतारमा होइन रमाउँदै गर्ने हो भन्ठान्ने हामी घाममा बसेर चटपटे बनाएर खान थाल्यौँ। ४ हजार मिटरको उचाइमा चटपट बनाएर खाँदा बडो भिन्दै महसुस भइरहेको थियो।
त्यहाँ नजिकै ताल छ भन्ने सुन्दा मनमा उमंग छायो अनि हामीहरू पनि तालमा पुग्यौँ। तालमा पुग्दा टाढा-टाढासम्म फैलिएका हिमालहरू प्रतिबिम्बित भएको देख्दा त्यो मनोरम दृश्यले मन आनन्दित तुल्यायो।
साथीहरूसँग फोटो र भिडियो खिच्दै त्यही तालको नीलो पानीमा आफ्ना दृष्टिहरू डुलायौँ। घण्टौँ त्यहीँ बस्ने रहर नभएको भने होइन तर चिसो हावा र मौसमको अगाडि हाम्रो केही लाग्दैन भन्ने थाहा भएकाले हामी होटल फर्कियौँ।
ती अनुपम दृश्यहरूले यात्रा अझै अर्थपूर्ण बनायो। पदयात्रा गर्ने क्रममा पाएका दु:ख, अफ्ठ्यारा गन्तव्यमा पुगिसकेपछिका मनोरम दृश्यहरूले चटक्कै बिर्साइदिने रहेछन्।
चौथो दिन कात्तिक १३ गतेको बिहान जुरुक्क उठेर क्यान्जिन रीको शिखरमा पुग्ने योजना बनायौँ।
उचाइमा पुग्दै गर्दा हावाले सास फेर्न कठिन बनायो, तर शिखरमा पुगेर तलको दृश्य देख्दा सबै दुःख भुलियो। सबैजनाले प्रकृतिको त्यो अनुपम दृश्यमा रमाउँदै संसार बिरानो भएजस्तो अनुभव गर्यौँ।
निलो आकाशमुनि सपनाहरूको झोला बोकेर हिँड्दा, यो यात्रा केवल गन्तव्यतिरको हो भन्ने नलाग्दो रहेछ। प्रकृतिसँगको मिलनको अनमोल अनुभव बटुल्न आतुर पाइलाहरू थाकेर पनि नथाकेझैँ लम्किरहँदा रहेछन्।
त्यसपछि तल झर्दा थकानले सारा शरीर गल्न थाल्यो। ओरालो लाग्दा गोडा अझै बढी दु:ख्न थालेको महसुस भयो। होटलमा पुगेर बिहानको खाजा खायौँ र हामी फर्किनँ सुरू गर्यौँ। बिहान करिब ११ बजे सुरू भएको हाम्रो यात्राले गति लिँदै थियो भने गोडाहरू बटारिँदै थिए।
उकालोमा उकालो चढ्ने समस्या, ओरालोमा गोडा खाँदिने समस्या। साँघुरो बाटोमा भेटिएका घोडाका बथानले बाटो ओगट्ने र १०/१५ मिनेट पर्खनुपर्ने बाध्यता।
लामा होटल आइपुग्दा रात पर्नै लागिसकेको थियो। हातमा टर्च लाइट लिएर रिम्चे आइपुग्दा अब यहीँ बस्नुपर्छ जस्तो महसुस पनि भयो तर साथीहरूले होटल बुक गरिसकेको भन्ने जानकारी गराउनु भयो। जसरी भएपनि होटलमा पुग्नुपर्छ भन्दै हामी घाइते गोडा घिसार्दै रिम्चेबाट ओरालो झर्यौँ।
अध्याँरो समय, टर्च र मोबाइलको भरमा हामी लम्किँरहेका थियौँ। रिम्चे तलको पहिरोमा आइपुग्दा साह्रै गाह्रो महसुस भयो तर गन्तव्यमा पुग्नुपर्ने बाध्यताले नै हामी जसोतसो अगाडि बढिरह्यौँ।
बेलुकीको ८ बजे ब्याम्बो आइपुग्दा अब यहाँभन्दा अगाडि बढ्न सकिन्नँ भन्ने लाग्यो। पहिरोमा होटल बुक गरिएको भनिएतापनि भाग्यवश् होटलको नाम एउटै भएको र होटल पहिरोमा बुक नभएर ब्याम्बोमा भएको भन्ने थाहा पाउँदा हाम्रो हर्षको सीमा नै रहेन।
गोडा फतक्क गलेको थियो। यात्रा ५ जनाले सुरू गरेतापनि हामी बाटोमा ७ जना भइसकेका थियौँ। यात्राले भेटिएका अरू दुई साथीहरूसँग पनि हामी निकट हुँदै थियौँ।
आगो ताप्दै साथीहरूका गफ र रमाइलो माहोलमा थकानलाई बिर्सन सफल भयौँ। यात्रा जति नै कठिन भए पनि हाम्रो हाँसो र सम्वादले वातावरणलाई जीवित तुल्याएको थियो। ब्याम्बोमा बिताएको अन्तिम रातलाई स्मृतिमा जीवनभर सजाउने गरी हाँसोमजाकका साथ आ-आफ्नो बिस्तारामा लाग्यौँ।
यात्राको अन्तिम दिन कात्तिक १४ गतेको बिहान ब्याम्बोको त्यो चिसो वातावरण छाड्न कसैलाई पनि मन थिएन तर यात्रा समाप्तिको समय भएको थियो।
बिहान खाजा खाएर हामी पहिरो हुँदै स्याफ्रुबेसी फर्कियौँ। सँगै यात्रा गरेका केही साथीहरू छुट्टिएर चितवन जाने हुँदा नरमाइलो महसुस त भएको थियो नै तर पनि यात्राका सुन्दर सम्झनाहरू मनमा सँगाल्दै काठमाडौंको लागि गाडी चढ्यौँ।
नुवाकोटको बट्टारबाट पाँचजना साथीहरू गल्छी जाने गाडी चढ्नुभयो र बाँकी हामी दुईजना काठमाडौंका लागि हिँड्यौँ। साँझ ६ बजेतिर काठमाडौं आइपुग्दा थकान महसुस भएको थियो तर पदयात्राको अनुभव घरमा सुनाउने उत्साह भने छुट्टै थियो।
लाङटाङ यात्राले हामीलाई केवल प्रकृति देखाएन, यसले हामीलाई हामीभित्रको हामी देखायो। हाम्रो लगनशीलता देखायो। साथीहरूको मित्रता देखायो।
कतिपय कुरा हामी प्रकृतिको नजिक पुगेपछि मात्र बुझ्न सक्छौँ भन्ने अनुभवसमेत गरायो। यो यात्रा हाम्रा लागि एक अद्भुत सम्झना बन्यो र बनिरहनेछ। लाङटाङ पदयात्रा एउटा सुन्दर कथा बन्यो जसलाई हामी जीवनभर सम्झिरहनेछौँ।
यात्राका मेरा सहयात्री संगम, निशान, श्रृजना, दिनेश, प्रेषिका र प्रतिकप्रति आभारी छु।
(सबै तस्बिरहरू - करिष्मा र साथीहरू)