शनिबार, वैशाख २९ गते २०८१    
images
images

व्यापारिक केन्द्र बन्दै बीपीनगर

images
बिजनेस न्युज
images
images
व्यापारिक केन्द्र बन्दै बीपीनगर

बीपीनगर हुँदै बग्ने ठूलीगाड, गडसिरी र कापडी नदीमा पाउने विभिन्न प्रजातिका माछा यो क्षेत्रमा घुम्न आउने यात्रुका लागि पहिलो रोजाइँमा पर्ने गरेको छ।

images
images

सुदूरपश्चिम-  विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र पछिल्ला दशकमा मुख्य व्यापारिक केन्द्र बन्न थालेको छ। 

images
images
images

बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रुपमा चिनिन्छ। बड्डीकेदार गाउँपालिका-१ मा पर्ने यो क्षेत्रमा वार्षिक करोडौं मूल्य बराबरको अदुवा, बेसार, भटमास, कागतीलगायत कृषि उपजको कारोबार हुने गर्दछ। यसबाहेक यो क्षेत्रमा सङ्कलन हुने तेजपात, सम्य, झ्याउ पाखानबेदलगायतका जडीबुटी बाहिर निर्यात हुन्छ। यहाँबाट ठूलो परिमाणको जडीबुटी नेपालगञ्ज हुँदै भारत जाने गरेको स्थानीयवासी यमप्रसाद भट्टले बताए। 
  
तीन दशकअघि यो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षालगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रयास थालिएको थियो। 'विकासका दृष्टिमा पहिलेको बीपीनगर र अहिलेको बीपीनगरमा धेरै फरक देखिएको छ', केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बीपीनगरका प्रशासकीय अधिकृत यमप्रसाद भट्टले भने, 'सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ।'
  
डोटी र कैलाली जिल्लाको सीमा क्षेत्र हुँदै बग्ने ठूलीगाड नदी, उत्तरतर्फबाट आउने गडसिरी नदी र कापडी नदीको सङ्गम नजिकैको मैदानी फाँटमा बीपीनगर बजार विस्तार भएको छ। अग्ला पहाडको खोँच छिचोल्दै कलकल बग्ने ठूलीगाड, गडसिरी र कापडी नदीको आवाज र वरपरको प्राकृतिक दृष्यावलोकनले यहाँ घुम्न आउने यात्रु रमाउँछन्। 
 
यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित केबुलकार निर्माण गर्न पहल पनि थालिएको छ। यसका लागि बीपीनगरदेखि बनाना केदार हुँदै उदैनी केदारसम्म र अत्तरकाँडाको काफली गाडहुँदै बड्डीकेदारसम्म केबुलकारको योजना निर्माणको लागि पहल भइरहेको स्थानीय समाजसेवी पदमराज जोशीले बताए। यो क्षेत्रको नाम बीपीनगर राखिएकाले त्यहाँ घुम्न जाने जो कोहीले पनि नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई स्मरण गर्ने गर्दछन्।  

images

विसं २०४६ मा भएको राजनीतिक परिवर्तनसँगै स्थानीय प्रजातन्त्रप्रेमी बासिन्दाको पहलमा यो क्षेत्रलाई बीपीनगर नामाकरण गरिएको हो। विसं २०४६ अघि सम्म यो क्षेत्र ‘घोडिलास’ नामले चिनिन्थ्यो। 'नेपालमा प्रजातन्त्र स्थापना भएको दिन विसं २०४६ चैत २६ गते महामानव एवं लोकतन्त्रवादी नेता स्वर्गीय बीपी कोइरालाको नीति विचारमा आउने पिँढीलाई हिडाउँदै समग्र विकास गर्ने उद्देश्यले उहाँकै नामबाट यो क्षेत्रको नामाकरण गरिएको हो', समाजसेवी जोशीले भने, 'पछिल्ला वर्षमा नाम परिवर्तन गरिएकाप्रति कतिपयले असहमति जनाइरहेका छन्।' 
   
नजिकैको पहाडको टाकुरामा प्रचीनकालमा भोटेराजाको गढी रहेकाले नै यसको नाम पनि ‘घोडिलास’ राखिएको स्थानीयवासीको भनाइ छ। यही गढीमा भोटे राजाले शत्रुबाट जोगिनका लागि घोडा चढ्ने, दौडाउने, ढुङ्गाका हतियार बनाउनेजस्ता कला र सीप सिकाउने गरिएको बताइन्छ। भोटेगढीवाट कापडी नदीसम्म सुरुङमार्ग समेत रहेको भन्ने भनाइ छ। 'यसै सुरुङमार्ग हुँदै भोटेराजाका रानीले कापडी नदीसम्म पुगेर गढीमा पानीको जोहो गर्ने गरेको भन्ने भनाइ छ', समाजसेवी जोशीले भने, 'अहिले भने यो सुरुङमार्ग ठाउँ ठाउँमा भत्किएको अवस्थामा रहेकाले, हाल कोही जान सक्दैनन्।'
  
धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गमा पर्ने कैलालीको सहजपुर सडक खण्डवाट बीपीनगरको दूरी १८ किलोमिटर छ। यो सडकलाई साविकको भन्दा थप चौडा बनाएर स्तरोन्नति गर्ने काम भइरहेको छ। सहजपुरदेखि बीपीनगर र बोगटान क्षेत्र हुँदै जिल्ला सदरमुकाम दीपायलसम्मको सडक निर्माणाधीन छ। यस्तै धनगढीदेखि स्याउले-बीपीनगर हुँदै दीपायल सम्मको फास्ट ट्र्याक(द्रूतमार्ग) सडक पनि निर्माणाधीन छ। सडक सञ्जालका दृष्टिमा यो क्षेत्र केन्द्र भागमा पर्न थालेकाले पनि यसको महत्व अझ बढ्ने देखिएको छ। यस क्षेत्रमा क्याम्पस, विद्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय सञ्चालनमा छन्। 
  
सम्भावना र अवसरको खोजी गर्दै स्थानीय युवा करन साउदले यो क्षेत्रमा हालै एक करोड रुपैयाँभन्दा बढीको लगानीमा सुविधायुक्त होटेल सञ्चालनमा ल्याएका छन्। 'घुम्न आउने पर्यटकलाई लक्षित गरेर होटेल व्यवसाय सुरु गरेका हौँ', होटेल विकासका सञ्चालक साउदले भने, 'पर्यटकको बसाइँ सहज बनाउन चाहिने खानाका सबै परिकारका अलावा ठूलीगाडका माछाका परिकार पस्किएर दिने सोच बनाएका छौं।' 
 
डोटीका प्रसिद्ध धार्मिक तीर्थस्थल बड्डीकेदारमा वर्षमा एक पटक लाग्ने धार्मिक मेलामा आवागमन गर्ने भक्तजन बीपीनगरको बाटो हुँदै पुग्ने गर्दछन्। 
  
माछाका लागि चर्चित 

images

बीपीनगर हुँदै बग्ने ठूलीगाड, गडसिरी र कापडी नदीमा पाउने विभिन्न प्रजातिका माछा यो क्षेत्रमा घुम्न आउने यात्रुका लागि पहिलो रोजाइँमा पर्ने गरेको छ।
 
यी नदीमा पाउने माछाबाट बनेका परिकार निकै स्वदिष्ट हुँदा यसले बीपीनगरको पहिचान बनाएको अनुभव सुनाउँछन्। स्थानीयवासी जयराज भण्डारीले ठूलीगाड नदीको माछा निकै स्वादिष्ट हुने गरेको बताए। 'यहाँ पाइने माछाबाट बनेका परिकार निकै स्वादिष्ट हुन्छ', उनले भने, 'माछाकै कारणले पनि यो क्षेत्रले आफ्नो छट्टै परिचय बनाएको छ।'

images
images

नदीमा विषादीको प्रयोग र करेन्ट प्रवाह गरेर माछा मार्न रोक लगाइएको गाउँपालिकाले जनाएको छ। यो नदी पूर्वदक्षिणतर्फको कर्णाली नदीमा गएर मिसिन्छ। पानीको सतह बढेको समयमा कर्णाली नदीमा पाइने माछा बीपीनगर सम्मको ठूलीगाड नदीको भाग सम्म आउने पुग्ने गरेको बताइन्छ। रासस

images

प्रकाशित : आइतबार, कात्तिक २१ २०७८१०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend