शुक्रबार, चैत १६ गते २०८०    
images
दसैँले फर्कायो पर्यटन, गुलजार छन् गन्तव्य

दसैँले फर्कायो पर्यटन, गुलजार छन् गन्तव्य

बिजनेस न्युज

काठमाडौं- अहिले दसैँ खानपान, भेटघाट र मान्यजनबाट आशिष लिने चाड मात्र रहेन। दसैँसँग घुमघाम जोडिन थालेको छ। त्यसबाट आफन्त, इष्टमित्र, घरपरिवारसँग बसेर रमाइलो गर्ने अवसर जुराइदिने दसैँले मुलुकको अर्थतन्त्रमा पनि उल्लेख्य टेवा पुर्‍याउँछ।

images
images
images

अर्थतन्त्रका विभिन्न आयामहरूसँग जोडिने दसैँ पर्यटन क्षेत्रका लागि पनि महत्वपूर्ण छ। वर्षभरमा धेरै बिदा हुने समय दसैँ नै रहनु र मौसमले साथ दिनुले यो याम घुम्न चाहनेका लागि विशेष बनिरहेको छ। दसैँको टीकालाई घर फर्कने गरी कतिपय घुम्न निस्किसकेका छन्, कतिपय विजया दशमीकै दिन पनि गन्तव्यमै हुन्छन् भने कतिपय दसैँलगत्तै गन्तव्यतिर लाग्छन्। 

घमाइलो र रमाइलो समय अर्थात् पर्यटकीय सिजनको रुपमा लिइने यही समयमा दसैँ पर्दा यसको उल्लास अझ बढी हुने गर्छ। मानिसहरू घुम्न निस्कने हुँदा र विदेशी पर्यटकहरू पनि नेपालमा आउने उपयुक्त समय हुँदा दसैँले पर्यटन क्षेत्रलाई गुल्जार गराउँछ।

सन् २०१९ देखि निरन्तर ओरालो लागेको मुलुकको पर्यटनमा सन् २०२१ आशाको किरण पनि बन्ने सम्भावना देखिन्छ। सन् २०२० को शुरुवातदेखि नै कोरोना भाइरस (कोभिड-१९)का कारण आक्रान्त र सबैभन्दा बढी थलिएको पर्यटन क्षेत्र अहिले विस्तारै लयमा फर्किने दाउमा छ।

कोरोना संक्रमण घट्दो, कोभिडविरुद्धको खोप र सरकारले हालै अनअराइभल भिसा खुला गर्दा र तुरुन्तै परेको दसैँका कारण पर्यटन क्षेत्रमा रंग देखिन थालेको हो। मुलुकका प्रसिद्ध पर्यटकीय गन्तव्यका पर्यटन व्यवसायीहरूले दसैँका कारण व्यवसायमा रौनक देखा पर्न थालेको बताउँछन्। अहिले न्युनतम १० प्रतिशतसम्म रहेको अकुपेन्सी दसैँसम्ममा औसतमा ४० प्रतिशतसम्म पुग्ने व्यवसायीहरू बताउँछन्। यस्तै आन्तरिक पर्यटक र भारतीय पर्यटकबाट पनि राम्रो बुकिङ भइरहेको उनीहरूको भनाइ छ। 

tourist pokhara.jpg

सरकारले भर्खर नेपाल आगमन सहज गराएको हुँदा तत्काल दोस्रो तथा तेस्रो मुलुकका पर्यटकहरू आउने सम्भावना कम छ। त्यसकारण पनि अहिले व्यवसायीहरू आन्तरिक पर्यटकमा नै भर परेका छन्। आन्तरिक पर्यटकबाट नै दसैँ गुल्जार हुने आशा र भरोसामा व्यवसायीहरू छन्। आन्तरिक पर्यटकको घुम्ने आदत, बुकिङको अवस्था र चासोले पनि व्यवसायीहरू उत्साहित देखिएका छन्। यी सबै विषयलाई कोभिडविरुद्धको खोप, आवतजावत खुकुलो नीतिका कारण सम्भव भएको छ। 

नेपाल पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ धनन्जय रेग्मी अव केहि समय आन्तरिक पर्यटकले पर्यटन क्षेत्रलाइ राहत दिन बताउँछन्। आन्तरिकस‌ंगै बाह्या पर्यटकमा केन्द्रित हुने समेत रेग्मी बताउँछन्। अहिलेकै अवस्था यथावत रहेका, सरकारले कुनै कसिलो मापदण्ड नल्याएमा पर्यटन क्षेत्रलाई दसैँ नै लाग्ने स्पष्ट छ। पोखराका होटेलहरूको अकुपेन्सी अहिले न्युन नै रहेको तुलाचन बताउँछन्।

चाडपर्वको वातावरण भएकोले दसैँ तिहारसम्ममा अकुपेन्सी बढ्ने अपेक्षा राखिएको उनी बताउँछन्। पर्यटकीय याम भए पनि विदेशी पर्यटकहरू आउने सम्भावना कम छ। सरकारले ढिलो गरी विदेशी पर्यटक आगमनमा खुला नीति ल्याउँदा आउने पर्यटकहरू पनि नेपाल आउनबाट बञ्चित भएको उनको तर्क छ। 

tourist.jpg

यसैगरी एयरलाइन्स कम्पनीहरूले पनि दसैँ अफर भनेर घोषणा नगरे पनि विभिन्न सस्तो प्याकेजहरू ल्याएका छन्। दसैँका लागि हालसम्म ७० प्रतिशत बुकिङ भइसकेको बताउने एयरलाइन्स कम्पनीहरूले प्रसिद्ध गन्तव्यहरूका लागि सस्तो दरमा प्याकेज ल्याएका छन्। त्यसमध्ये बुद्ध एयर एउटा हो। आन्तरिक गन्तव्य पोखराका लागि बुद्धले ८ हजार रुपैयाँ २ रात ३ दिनको प्याकेज ल्याएको छ। दसैँ अफर नै नभने पनि असोज २५ गते मनाउँदै गरेको २४ औं वार्षिकोत्सबको अवसर पारेर सस्तो प्याकेज ल्याएको छ। ७ हजार ९९९ रुपैयाँ को काठमाडौं-पोेखरा प्याकेज बुद्ध एयरले लागू गरेको छ। यसअन्तर्गत २ रात ३ दिनसम्म पोखरामा बसेर घुम्न पाइन्छ। 

यस्तै बुद्ध होलिडेले भैरहवा-पोखरा  ८ हजार ९९९ रुपैयाँ नेपालगञ्जबाट पोखराका लागि  १० हजार ९९९ रुपैयाँ सिमरा-पोखराका लागि ९ हजार ९९९ रुपैयाँ को सस्ता प्याकेज ल्याएको छ। यसले पनि पर्यटकीय गन्तव्य पोखरामा आन्तरिक पर्यटकहरू पुग्ने विश्वास गर्न सकिन्छ। बुद्ध एयरका अनुसार अधिकांशको रोजाई पोखरा नै हुने गरेको छ।

नेपाल घुम्नका लागि सुगम र रमणीय प्रसिद्ध गन्तव्यको रुपमा काठमाडौं उपत्यका, पोखरा, चितवन, नगरकोट, लुम्बिनी, धुलिखेल जस्ता पर्यकीय गन्तव्य त छदै छन्, त्यसबाहेक पर्वतारोहण, ट्रेकिङ पदयात्राका लागि मनास्लु, मुस्ताङ, हुम्ला, तत्लो डोल्पा, कञ्चनजंगा, माथिल्लो डोल्पाहरू प्रसिद्ध गन्तव्य मानिन्छन्। 

नेपाल पर्यटन तथ्यांक २०२० अनुसार नेपालमा सर्वाधिक पर्यटक आएको वर्षको रुपमा सन् २०१९ लाई लिइन्छ। जसअनुसार नेपालमा ११ लाख ९७ हजार १९१ पर्यटकहरू नेपालमा घुम्न आएका थिए। नेपालमा पर्यटकहरू आउने प्रमुख देशमा भारत, चिन, अमेरिका, बेलायत, श्रीलंका, म्यानमार, थाइल्याण्ड हुन्। खासगरी सन् २०१९ मा विदा मनाउन ७ लाख ७८ हजार १७३ जना पर्यटन आउँदा सन् २०२० मा भने यो संख्या १ लाख ३९ हजार २०२ मा झरेको थियो। 

यस्तै सन् २०१९ मा धार्मिक पर्यटकहरू १ लाख ९७ हजार ७८६ आउँदा सन् २०२० मा भने जम्मा २८ हजार ५३० जना आएका थिए। यस्तै ट्रेकिङ तथा पर्वतारोहणका लागि सन् २०१९ मा १ लाख ७१ हजार ९३७ जना पर्यटक आउँदा सन् २०२० मा यस्तो संख्या जम्मा ३५ हजार ८९३ रहेको थियो। नेपालको पर्यटनले पुरानै अवस्थामा फर्कन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ। सन् २०२१ को सेप्टेम्बरसम्ममा जम्मा ७६ हजार ८६४ विदेशी पर्यटक नेपालमा आएका छन्। यो अवस्थाले पनि सन् २०२१ मा पनि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना देखिँदैन। आन्तरिक पर्यटक र यस्तै चाडपर्वको भरथेगले पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन सक्ने अवस्था भने विद्यमान छ। 

नेपालमा पर्यटक आगमन र बसाइको अवस्था

वर्ष पर्यटक आगमन  बसाई अवधि
२०१५  ५३८९७०  १३.१६
२०१६  ७५३००२  १३.४
२०१७ ९४०२१८ १२.६
२०१८ ११७३०७२ १२.४
२०१९ ११९७१९१ १२.७
२०२० २३००८५ १५.१
२०२१ (सेप्टेम्बरसम्म) ७६८६४   

                                                     तथ्यांक स्रोत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय


प्रकाशित : शनिबार, असोज ३० २०७८०२:०२

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार