आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

बेनीका तीन वटा धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति सुरु

images
आइतबार, साउन ४ २०८२
images
images
बेनीका तीन वटा धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति सुरु

गण्डकी प्रदेश सरकारमार्फत गलेश्वरबाट पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नति गर्न थालिएको बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीले बताए।

images

म्याग्दी- जिल्लाको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति गर्न सुरु गरिएको छ। गलेश्वर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो।

images
images

पछैमा हिन्दू धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्वकालमा ऋषि मुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए। जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ।

images
images

म्याग्दी हुँदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइँ लम्बाउने र स्थानीयवासीको सहजताका लागि गण्डकी प्रदेश सरकारमार्फत गलेश्वरबाट पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नति गर्न थालिएको बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीले बताए।

images
images
images

‘गलेश्वरस्थित बेनी-जोमसोम-कोरला खण्डलाई फरालिको पार्ने, ग्रेड र घुम्ती सुधार गर्ने, नाली, पर्खाल निर्माण र ढलान गर्ने योजना छ’ उनले भने, ‘अहिलेको ठेक्काबाट गलेश्वर-काउलेगौँडा क्षेत्रमा स्तरोन्नति हुनेछ। बाँकी खण्डमा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारमा पहल गरेका छौँ।’

गण्डकी प्रदेश सरकारले तीन करोड ५९ लाख ९८ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको उक्त आयोजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरि छनोट भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

दुई करोड २३ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको योजनामार्फत बेनी-९ मा ढलान र ग्राभेलसहित स्तरोन्नति हुने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउँछन्। उनका अनुसार तीन सय मिटर ढलान र एक हजार सात सय मिटर ग्राभेलसहित स्तरोन्नति हुनेछ।

गत असारमा सम्झौता गरेको ठेकेदार कम्पनीले काउलेगौँडा-कोसेपानी क्षेत्रमा डोजर परिचालन गरेर सडक फराकिलो बनाउने काम थालेको छ। यो सडक सम्पन्न भएसँगै बेनी-९, १०, रघुगंगा गाउँपालिका-५, ६ र ८ नम्बर वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्।

यसअघि बेनी नगरपालिकामार्फत गलेश्वर-काउलेगौँडा क्षेत्रमा करिब दुई किमी सडक स्तरोन्नति भएको थियो। गत कात्तिकमा दिवंगत भएकी गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले धार्मिकस्थल गलेश्वर, पुलाश्रम र जगन्नाथ जोड्ने यो सडकलाई बहुवर्षिय ठेक्का आह्वानका लागि प्रदेश सरकारसँग प्रस्ताव गरेकी थिइन्।

बेनी-पाखापानी सडकको नेप्टेचौरबाट काउलेगौँडा र किराखोरबाट तीनमाने हुँदै पछैतर्फ पनि प्रदेश सरकारमार्फत विभिन्न ठाउँमा ढलान भएको छ। प्रदेश सरकारमार्फत गत वर्ष स्रोत सुनिश्चतता भएको २० करोड रुपैयाँ बजेटबाट बेनी-पाखापानी सडकअन्तर्गत बेनी-९ को किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानी जोड्ने चार किमी सडक स्तरोन्नति भइरहेको छ।

म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हुँदा बेनी-पाखापानी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले चार करोड बजेट विनियाजन गरेर २० करोड रुपैयाँको स्रोत सुनिश्चतता गर्ने निर्णय गरेको थियो।

बेनीबाट किराखोरसम्मको सडक स्तरोन्नति गरेको बेनी नगरपालिकाले बेनी-पाखापानी सडकअन्तर्गत वडा नम्बर ९ को वडा कार्यालयबाट गिठीनी पात्लेखेत हुँदै रघुगंघको झिँ जोड्ने सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको छ। रासस


प्रकाशित : आइतबार, साउन ४ २०८२१३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend