नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दूध उत्पादक किसानलाई करिब २८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नगरभित्रका दूध उत्पादक किसानलाई २७ लाख ९२ हजार दुई सय ९६ रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराइएको हाे।
नगरपालिकाले दूध उत्पादक किसानलाई पाँच वटा सहकारीमा संकलन भएको १३ लाख ९६ हजार एकसय ४८ लिटर दूधमा प्रतिलिटरमा दुई रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको हो।
नगरपालिकाका अनसार साना किसान कृषि सहकारी संस्था कावासोती-१४ मार्फत छ लाख ३५ हजार दुई सय ७५ लिटर, एकीकृत दूध विकास सहकारी संस्था कावासोती-८ मार्फत तीन लाख १९ हजार ६४ लिटर, जनकल्याण कृषि तथा दूध सहकारी कावासोती-१७ मार्फत तीन लाख १६ हजार ९ सय ९२ लिटर दूध संकलन भएको थियाे।
त्यस्तै शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती-२ मार्फत ५७ हजार पाँच सय ८३ लिटर र नमुना दूध उत्पादक सहकारी कावासोती-१७ मार्फत ६७ हजार दुई ३३ लिटर दूध संकलन भएको र सोही आधारमा अनुदान उपलब्ध गराइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिए।
नगर प्रमुख विष्णुप्रसाद भुसालले अनुदानले किसानलाई प्रोत्साहन गर्ने विश्वास लिइएको बताएका छन्। ‘किसानलाई केही राहत होस् भन्ने उद्देश्यले अनुदान उपलब्ध गराइएको हो’ उनले भने। रासस