काठमाडौं- सरकारले उद्योग दर्तामा तथा विदेशी लगानी स्वीकृतिमा स्वचालित प्रणालीको कार्यान्वयन गरेपछि एकै आर्थिक वर्षमा हालसम्मकै धेरै उद्योग दर्ता भएका छन्।
आर्थिक वर्ष २०८१/८२ मा सातसय उद्योग दर्ता भएका छन्। उद्योग विभागको तथ्यांकअनुसार एकै वर्षमा उच्च दर्ता कायम भएको हो। यसअघि २०४९/५० मा ६०७ वटा उद्योग दर्ता भएका थिए।
दर्ता प्रक्रियामा भएको सहजीकरणले गर्दा सानो पुँजीका उद्योगको दर्ता संख्या धेरै देखिएको हो। २०८१/८२ मा कुल २ खर्ब ५८ अर्ब रूपैयाँ पुँजीका ७ सय उद्योग दर्ता भएका हुन्। गत वर्ष भने ४३४ वटा उद्योग दर्ता भएका थिए।
यद्यपि गएको वर्ष पुँजीको हिसाबले भने उच्च छैन। उद्योग विभागका अनुसार यसका पछाडि न्यून पुँजी आवश्यक पर्ने उद्योगको दर्ता धेरै भएको छ।
सरकारले ५० करोड रूपैयाँ पुँजीसम्मका उद्योग दर्ता स्वचालित मार्गमात्र होइन। विदेशी लगानीको स्वीकृति पनि स्वचालित मार्गबाटै हुने गरेको छ। गत वर्षदेखि लागु भएको यो प्रणालीको फाइदा सूचना प्रविधि उद्योगले लिएका छन्।
विभागको तथ्यांकअनुसार सूचना प्रविधिमूलक उद्योगको दर्ता गत वर्षको तुलनामा ८ गुणाले बढेको छ। गत वर्ष २१ वटा दर्ता भएकोमा गएको वर्ष १८५ वटा दर्ता भएका छन्। विदेशी लगानीको हकमा न्यूनतम पुँजीको क्याप नभएको यही क्षेत्रको दर्तामा आकर्षण धेरै देखिएको हो।
उद्योग दर्तामा उच्च रोजगारी सिर्जना गर्ने उत्पादनमूलक र ठूला उद्योगको तुलनामा साना उद्योगमै आकर्षण देखिएको छ। ५७८ वटा यस्ता साना उद्योग दर्ता भएका छन्। एकातिर साना उद्योगका लागि सहज प्रक्रिया भएको र अर्कोतिर ठूलो लगानी गर्ने लगानीकर्ताको आकर्षण अझै बढ्न नसकेको यसले देखाउँछ।
गएको वर्ष ठूला लगानीका उद्योग ६८ वटा दर्ता भएका छन् भने मझौला उद्योग पनि ५४ वटामात्र दर्ता भएका छन्। यसमा अधिकांश साना उद्योगको संख्या रहेको छ। स्वदेशी तथा विदेशी लगानीकर्ताले ठूलो लगानीको जोखिम लिन अझै नसकेको प्रस्ट देखिन्छ।
क्षेत्रगतरुपमा सबैभन्दा धेरै पर्यटनमा रहेका छन्। पर्यटनमा रेष्टुरेन्ट, साना होटलकै बाहुल्यता रहेको छ। त्यस्तै, सेवाका अन्य क्षेत्रमा पनि सानो पुँजीको उद्योगको संख्या धेरै छ। दोस्रो धेरै सूचना प्रविधि छ भने तेस्रोमा सेवाकै अन्य रहेका छन्।
साना उद्योग दर्तामा उल्लेख वृद्धि
साना प्रकृतिको उद्योग दर्तामा उल्लेख वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८१/०८२ कुल दर्ता भएका ७ सय उद्योगमध्ये साना उद्योगको संख्या ५सय ७८ रहेको छ।
साना उद्योगमा कुल ३७ अर्ब ३७ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। यसैगरी, गत आवमा नै ठूला उद्योगतर्फमा दर्ता भएका ६८ उद्योगमा २ खर्ब १ करोड रूपैयाँ र मझौलातर्फ दर्ता भएका ५४ उद्योगमा १९ अर्ब ४१ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ।
यस्तै, आर्थिक ०८०/०८१ मा कुल दर्ता भएका ४ सय ३४ उद्योगमध्ये ३ सय ३३ वटा साना उद्योग रहेका थिए। जसमा साना उद्योगतर्फ दर्ता भएका ३ सय ३३ वटा उद्योगमा कुल ३४ अर्ब ८० करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको थियो।
ठूलातर्फ दर्ता भएका ४९ वटा उद्योगमा १ अर्ब ४३ करोड मझौलातर्फ दर्ता भएका ५२ उद्योगमा २३ अर्ब २२ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ।
क्षेत्रगत उद्योग दर्ता र लगानी प्रतिबद्धता
उद्योग विभागका अनुसार गत आवमा सबैभन्दा बढी उद्योग पर्यटन क्षेत्रमा आधारित दर्ता भएका छन। दर्ता भएका ७ सय उद्योगमध्ये पर्यटनतर्फ २ सय ३५ वटा रहेको छ।
पर्यटन क्षेत्रआधारित उद्योगतर्फ कुल ४२ अर्ब ८० करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जामा आधारित उद्योगमा आएको छ।
३८ वटा ऊर्जामा आधारित उद्योग दर्ता भएका छन्, जसमा ८९ अर्ब १७ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ।
