म्याग्दी- भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१/८२ मा पशुपन्छी र माछापालक कृषकलाई ३८ लाख अनुदान वितरण गरेको छ।
४३ वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रममार्फत ३८ लाख ७० हजार ७५ रुपैयाँ अनुदान पाएका हुन्।
केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले घाँसखेती प्रोत्साहन, दूध उत्पादन कृषकलाई उत्पादनमा आधारित, कृषि ऋणको ब्याज अनुदान, पाडापाडी हुर्काउने, बृहत्तर पशु विकास, मत्स्य पोखरी निर्माण तथा मर्मत, उपकरण र घुम्ती गोठ संरक्षणका लागि अनुदान उपलब्ध गराएको जानकारी दिए।
सार्वजनिक सूचनामार्फत लाभग्राहीको आवेदन संकलन, स्थलगत मूल्यांकन, मापदण्डको आधारमा छनोट भएका फर्म, समूह र सहकारीले कार्य सम्पन्न गरेपछि अनुदान वितरण गरिएको उनले बताए। घाँसखेती प्रोत्साहन कार्यक्रमबाट १२ वटा फर्मलाई चार लाख २२ हजार सात सय ९० रुपैयाँ वितरण गरिएकाे छ।
नमस्ते र शुभकामना कृषि सहकारी संस्थामा आबद्ध गाईभैँसीपालक किसानलाई दूध उत्पादनमा आधारित ९ लाख ९९ हजार ९ सय ८० रुपैयाँ वितरण गरिएको छ। ६ वटा फर्मलाई कृषि ब्याजमा ९९ हजार ९ सय ६०, कृतिम गर्भाधानबाट जन्मिएका पाडापाडी हुर्काएका १४ फर्म तथा किसानलाई दुई लाख २० हजार पाएका छन्।
बृहत्तर पशु विकास कार्यक्रममार्फत बेनपा-३ को बेलढुंगा र मंगला-३ को नमूना कृषक समूहले एक लाख ५० हजार रुपैयाँ अनुदान पाएका छन्। तीन/तीन वटा फर्मलाई मत्स्य पोखरी निर्माण तथा मर्मतका लागि ८५ हजार दुई सय १५ र एक लाख ५८ हजार एकसय ३० रुपैयाँ उपलब्ध गराइएकाे छ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका-५ को चौरी स्रोत संरक्षण तथा प्रबर्द्धन समितिलाई घुम्ती गोठ निर्माणका लागि तीन लाख ८४ हजार रुपैयाँ उपलब्ध गराइएको केन्द्रले जनाएको छ।
यसैगरी पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका स्थानीय तहका कृषकले पालेका ८९ हजार ६ सय ५१ गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाइएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिए।
१० हजार ९ सय ८१ घरधुरी कृषक लाभान्वित भएका उनले बताए। १० हजार एकसय ८ गाईरगोरु, १६ हजार दुई सय ८६ भैँसी/रागो र दुई सय ८७ बङ्गुरलाई खोरेतविरुद्धको एफएमडी खोप लगाइएको छ।
पाँच हजार तीन सय ३७ पशुलाई लम्पी स्किन र तीन हजार तीन सय ९७ कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको छ। ४१ हजार सात सय १३ बाख्रा र ११ हजार एकसयक २९ भेडालाई पिपिआरविरुद्धको खोप लगाइएको केन्द्रका सूचना अधिकारी रेग्मीले बताए। रासस