तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काइ वाक शनिबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ।
गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो। स्काइ वाकका लागि प्रतिव्यक्ति दुई सय ५० रुपैयाँ शुल्क तोकिएको छ।
ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित गाउँपालिकाले स्काइ वाक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।
१५ लाख रुपैयाँ लगानीमा स्काइ वाक निर्माण गरिएको हो। ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ।
‘स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ। सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन’ उनले भने।
यस ठाउँ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको रहेकाले यहाँ पूर्वाधार थप गरिएको अध्यक्ष चुमानकाे भनाइ छ। स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएकाे छ।
पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रुपमा विकास भएको छ। विदा र शनिबारका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ। शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका-२ का वडाध्यक्ष आशबहादुर गुरुङ बताउँछन्।
ढुंगामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको हाे। डाध्यक्ष गुरुङ भन्छन्, ‘गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा अगाडि बढाएको छ। राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ।’
ऐनापहराबाट गाउँपालिकाले ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ। राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ।
यहाँ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ। तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ।
ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ। यस ठाउँलाई व्यवस्थित गर्न आयोजनाको विस्तृत प्रतिवेदनअनुसार १० करोड बजेट आवश्यक पर्छ। प्रतिवेदनअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ। रासस