शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

तातो हावाले कष्टकर बन्दै तराईको जनजीवन, तातो लहरबाट बच्न अनुरोध

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ११ २०८१
images
images
तातो हावाले कष्टकर बन्दै तराईको जनजीवन, तातो लहरबाट बच्न अनुरोध

'अहिले किसानसँग पैसा आएर बिक्री बढ्नुपर्ने हो,' पाण्डेले भने, 'तर गर्मी र तातो हावाकै कारण आगलागीले किसानको अन्न नष्ट भएको छ, अनि कसरी व्यापार बढ्नु?'

images
images

रुपन्देही- बैशाखको पहिलो साता नै भैरहवा आसपासको अधिकतम तापक्रम करिब ४४ डिग्री पुगेको छ। तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा (लू) चल्दा जनजीवन कष्टकर बन्दै गएको छ। ठाउँठाउँमा आगलागी भइरहेका छन्। आगलागीले करोडौंको धनमाल नष्ट भएका छन्। गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन्। अस्पतालमा बिरामीको चाप बढेको छ।

images
images
images

शनिबार नेपालमै सबैभन्दा बढी गर्मी (४३ दशमलव ६ डिग्री) भैरहवामा मापन भएको छ। आइतबार ४० दशमलव ६ डिग्रीले केही कम गर्मीको महसुस गराए पनि आज फेरि गर्मीले प्रचण्ड रुप लिएको छ। सोमबार भैरहवाको तापमान ४३ डिग्री पुग्यो।

images

भैरहवामा अन्य ठाउँभन्दा बढी गर्मी हुन थालेपछि जनजीवन कष्टकर बनेको हो। रुपन्देहीलगायतका जिल्लामा गर्मी बढेपछि स्थानीयवासीको दैनिकीमा समस्या आएको छ। चार-पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त छ। वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चलेपछि सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन्। अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ।

images

भीम अस्पताल भैरहवामा गर्मीका कारण बिरामी भई आउनेको चाप बढ्दो छ। सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने अस्पतालमा अहिले गर्मीकै कारण सात सयको हाराहारीमा बिरामी आएको भैरहवा भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले जानकारी दिए। 

'चिसो मौसम हुँदा सरदर तीनदेखि चार सय बिरामीको सङ्ख्या हुन्थ्यो, अहिले छ देखि सात सय दैनिक पुगेको छ,' उनले भने, 'धेरैमा पखाला र छालासम्बन्धी समस्या देखिएको छ।'

गर्मीसँगै पानी कम प्रयोग गर्दा हुने बिरामीको सङ्ख्या पनि बढेको उनले बताए। पिसाबको सङ्क्रमण, कडा ज्वरो, मिर्गौलामा पत्थरी भएका बिरामीमा तीव्र पेट दुख्ने समस्याका बिरामी अस्पताल आइरहेका छन्। अहिलेको वातावरणका कारण दम रोगका बिरामीलाई  समस्या भएको उनले बताए।

गर्मी बढ्दा चिसो पेयपदार्थ र फलफूल जुसको व्यापार बढेको छ। मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ। स्थानीय बासिन्दाको भनाइअनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो। गर्मीले मानिस मात्र हैनन्, पशुपंक्षी समेत प्रभावित भएका छन्।

बजार सुनसान भएपछि व्यापार घटेको छ। मोबाइल व्यापारी हरि पाण्डेले गर्मीकै कारण व्यापार घटेको बताए। 'अहिले किसानसँग पैसा आएर बिक्री बढ्नुपर्ने हो,' पाण्डेले भने, 'तर गर्मी र तातो हावाकै कारण आगलागीले किसानको अन्न नष्ट भएको छ, अनि कसरी व्यापार बढ्नु?'

अहिले अत्यधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायत समस्या देखिएकाले उनीहरुलाई पर्याप्त झोलिलो पदार्थ ख्वाउन चिकित्सकले सुझाव दिएका छन्। दिउँसो ११ देखि ३ बजेसम्म अति आवश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले सुझाव दिए। 

'बाहिर निस्किनै परे पूरा बाहुलाको लुगा लगाएर निस्किने र मुख राम्ररी छोप्नुपर्छ,' उनले भने, 'कतिपयले सन्सक्रिम लगाउनुहुन्छ, यसले पनि एलर्जी हुने हुँदा चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ।'

गर्मीबाट जोगिन पानी र झोलिलो पदार्थ बढीभन्दा बढी खान उहाँको सुझाव छ। तातो हावा, प्रचण्ड गर्मी र आगलागीबाट वातावरणमा परेको असरका कारण जनजीवन प्रभावित भएपछि राहत पाउन सर्वसाधारण, किसान, व्यापारीलगायतले वर्षाको कामना गरिरहेका छन्।

kisan janakpur garmi hot (2).jpg

तातो लहरबाट बच्न अनुरोध

जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ।

विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको भन्दै तापक्रम बढ्ने हुँदा सचेत हुन विशेष बुलेटिन सार्वजनिक गर्दै अनुरोध गरेको छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको उक्त बुलेटिनमा आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरिएको छ। 

'ती भूभागमा आगामी ५ दिन (२०८१ बैशाख १० गते देखि २०८१ बैशाख १४ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै पहाडी भूभागका उपत्यका तथा खोचमा तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनुहुन अनुरोध छ', बुलेटिनमा उल्लेख छ।

महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ।  

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ११ २०८११०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend